नीति तथा कार्यक्रमले जनताको आशा, उत्साह र भरोसालाई सम्बोधन गर्न सकेन : एमाले सांसद् अर्याल
काठमाडौं, ३१ वैशाख । प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छन्।
उनले नीति तथा कार्यक्रममा स्पष्ट दृष्टि, कार्यान्वयनको आधार र जनजीवन परिवर्तन गर्ने साहसिक संकल्प नदेखिएको बताए। उनका अनुसार नीति तथा कार्यक्रम शब्द छन्, दृष्टि छैन। देश समृद्ध भए पनि नागरिक सुखी नभए समाजवादको लक्ष्य पूरा नहुने उनको भनाइ छ।
विगत सरकारका सकारात्मक अभ्यास र कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै उनले राम्रा अभ्यासलाई अस्वीकार गर्ने प्रयास गरिएको आरोप लगाइन्। उनले भनिन्, ‘यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छन्, दृष्टि छैन। घोषणा छन्, दिशानिर्देश छैन। नाराहरू छन् तर कार्यन्वयनको आधार छैन। आफूलाई नवीन सोचको अवतार भनिने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो।’
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्पलाई नीति तथा कार्यक्रमबाट हटाएको भन्दै असन्तुष्टि जनाइन्।
What's Your Reaction?





