के नेपालमा राजतन्त्र फर्किन - श्रीराम गुरुङ (तमु)

गणतन्त्रको विकल्प गणतन्त्र - श्रीराम गुरुङ (तमु)
हिजो आज नेपाली समाजमा २५० वर्षे विस्थापित राजतन्त्र र १६ वर्षे गणतन्त्रबीच कुन ठिक र कुन बेठिक भन्ने बहस ब्यापक छ। राजतन्त्र पुनस्थापना गर्न राजावादीहरू सक्रिय हुँदै आन्दोलन मै उत्रिएका छन भने गणतन्त्रवादीहरू गणतन्त्रको रक्षात्मक गतिविधिमा उत्रिएका छन । खासमा राजतन्त्र / गणतन्त्र भनेको के हो ? किन नेपालमा राजतन्त्र पतन भए ? किन गणतन्त्र आवश्यक ठानियो र फेरि गणतन्त्र उल्टयाउन खोजिदैछ भन्ने बारे यस लेख मार्फत विश्लेषण गर्ने प्रयास गरिएको छ ।
विश्वमा संयुक्त राष्ट्रसङ्घ (UNO) द्वारा आधिकारिक रूपमा मान्यता प्राप्त १९३ वटा सदस्य राष्ट्रहरू छन्। साथै २ वटा पर्यवेक्षक राज्यहरू भ्याटिकन सिटी र प्यालेस्टाइन छन्।
केही अन्य भूगोल अनि क्षेत्रहरू पनि छन् जसलाई केही देशहरूले स्वतन्त्र देशका रूपमा मान्यता दिएका छन् जस्तै ताइवान, कोसोभो, पश्चिमी साहारा, आदि।
वर्तमान अवस्थामा संसारका कति देशमा गणतन्त्र वा राजतन्त्र छन् ?
• गणतन्त्र (Republic) भएका देशहरू: लगभग १५० बढी देश |
• राजतन्त्र (Monarchy) भएका देशहरू: लगभग ४० देशहरू |
(नोट: केही देशहरू मिश्रित शासन प्रणालीमा छन्, जस्तै संवैधानिक राजतन्त्र )
राजतन्त्र र गणतन्त्रमा के भिन्नता छ ?
• राजतन्त्र (Monarchy): देशको शासक (राजा वा रानी) वंशानुगत रूपमा शासन गर्न प्रणाली रहेको हुन्छ ।
राजतन्त्र दुई प्रकारका हुन्छन्:
• संवैधानिक राजतन्त्र (Constitutional Monarchy): राजा / रानीको शक्ति सीमित हुन्छ, जस्तै ब्रिटेन, जापान, थाइल्यान्ड आदि ।
• निरङ्कुश राजतन्त्र (Absolute Monarchy): राजा / रानी सँग पूर्ण शक्ति हुन्छ, जस्तै साउदी अरेबिया, ब्रुनाई आदि ।
• गणतन्त्र (Republic):
यस्तो शासन प्रणाली हो जहाँ राष्ट्रप्रमुख राष्ट्रपति जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्वाचित गर्छन्। जस्तै, नेपाल, भारत, अमेरिका आदि ।
विश्वमा विभिन्न शासन प्रणालीहरू प्रचलित छन्, जसमध्ये प्रमुख केही यस्ता छन्:
• संवैधानिक राजतन्त्र (Constitutional Monarchy) – ब्रिटेन, जापान, नर्वे आदि |
• निरङ्कुश राजतन्त्र (Absolute Monarchy) – साउदी अरेबिया, ब्रुनाई आदि |
• सङ्घीय गणतन्त्र (Federal Republic) – अमेरिका, भारत, जर्मनी आदि |
• एकात्मक गणतन्त्र (Unitary Republic) – नेपाल, फ्रान्स आदि |
• साम्यवाद (Communism) – चीन, उत्तर कोरिया, क्युबा आदि |
• सैन्य शासन (Military Dictatorship) – म्यानमार अहिलेको अवस्था |
• थियोक्रेसी (Theocracy - धार्मिक शासन) – भ्याटिकन सिटी ( पोपको शासन ) इरान इस्लामिक गणतन्त्र |
• तानाशाही (Dictatorship/Autocracy) – उत्तर कोरिया ( किम्जोङ्गको शासन )
नेपालमा हाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली रहेको छ जसमा जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरकार चयन गर्न गर्दछन ।
विश्वमा राजतन्त्र फर्किएका केही मुलुकहरु -
१. स्पेन
• राजतन्त्र हटाइयो: सन् १९३१ मा स्पेनमा गणतन्त्र स्थापना भयो।
• फेरि राजतन्त्र फर्कियो: सन् १९७५ मा जनरल फ्रान्सिस्को फ्राङ्कोको मृत्युपछि स्पेनमा पुनः संवैधानिक राजतन्त्र स्थापना गरियो। हाल स्पेनमा राजा फिलिप छैठौं (Felipe VI) शासन गर्छन्।
२. कम्बोडिया
• राजतन्त्र हटाइयो: सन् १९७० मा अमेरिका समर्थित कुपको कारण राजतन्त्र हटाइयो र गणतन्त्र घोषणा गरियो।
• फेरि राजतन्त्र फर्कियो: सन् १९९३ मा संयुक्त राष्ट्रसंघको सहयोगमा पुनः संवैधानिक राजतन्त्र स्थापना गरियो। हाल राजा नोरोडम सिहामोनी (Norodom Sihamoni) छन्।
३. अफगानिस्तान (अस्थायी पुनस्थापना)
• राजतन्त्र हटाइयो: सन् १९७३ मा मोहम्मद जहीर शाहलाई अपदस्थ गरी गणतन्त्र घोषणा गरियो।
• राजतन्त्र फर्काउने प्रयास: सन् २००१ मा तालिबान पतन भएपछि केही समयका लागि पूर्व राजा मोहम्मद जहीर शाह लाई "राष्ट्रपिता" को रूपमा मान्यता दिइयो, तर औपचारिक रूपमा राजतन्त्र पुनर्स्थापना भएन।
फ्रान्समा फर्किएको राजतन्त्र टिकेन | फ्रान्सले सन् १७८९ को फ्रान्सेली क्रान्ति पछि राजतन्त्र हटाएको थियो। तर, केही अवधिमा राजतन्त्र पुनःस्थापित गरिएको थियो, जस्तै:
• पहिलो राजतन्त्र पुनर्स्थापना (१८१४ - १८३०)
• नेपोलियन बोनापार्ट पराजित भएपछि लुइस १८औं (Louis XVIII) लाई राजा बनाइयो।
• उनको मृत्युपछि चार्ल्स १०औं (Charles X) राजा बने, तर १८३० मा उनलाई हटाइयो।
• दोस्रो राजतन्त्र पुनर्स्थापना (१८३० - १८४८)
• लुइस फिलिप (Louis-Philippe) लाई संवैधानिक राजा बनाइयो, तर १८४८ मा दोस्रो गणतन्त्र स्थापना भयो र उनी हटाइए।
त्यसपछि फ्रान्समा राजतन्त्र कहिल्यै फर्किएको छैन। हाल फ्रान्स राष्ट्रपति-शासित गणतन्त्र (Presidential Republic) प्रणालीमा छ।
नेपालमा राजतन्त्रको पतन कहिले भयो ?
नेपालमा प्राचीन इतिहास देखि मध्य काल हुँदै आधुनिक कालसम्म पनि राजतन्त्र कै शासन प्रणाली हावि थियो। ठूल्ठूला चक्रवर्ति देखि स साना टारे भकुरे राजाहरुले आ आफ्नो समयमा राज गरे। इतिहासमा धर्मात्मा देखि सन्कि राजाहरुले शासन गरेको पाइन्छ । प्रजाले नखाइकन आफुले भोजन नगर्ने महिन्द्र मल्ल जस्ता राजा पनि यहि मुलुकमा थिए।
राजा र राज परिवारको सलामि,हिस्सेदारि,कर मुफ्त,व्यवसायमा ५१% साझेदारि चाहिने राजाहरुले पनि नेपालमा शासन गरे । पुरातत्विक महत्त्वको बहुमुल्य मुर्ति विदेशमा निर्यात गरि द्रव्य आर्जन गर्ने राजाहरु पनि नेपालले बेहोरे।अन्ततः राजाकै व्यवहारका कारण नेपालमा बिधिवत रुपमा नेपालको अन्तरिम संविधान २०६३ लाई संशोधन गरि २०६५ जेठ १५ गते(२८ मे,२००८) राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक प्रवेश गर्यो ।
के नेपालमा राजतन्त्र फर्किन्छ ?
नेपाली समाजको अधिकाङ्स विभेद र उचनिचको जननि हिन्दु राजसस्था नै हो भन्दा फरक पर्दैन। धेरै मान्छेहरुले राजसस्था भएको मुलुक बेलायत,जापान,थाइल्यान्ड लगायत मुलुकहरुको उदाहरण दिन्छन। त्यस देशको राजसस्थाले आफ्नो जनतालाइ एकतृत गरे तर कहिलै मान्छे-मान्छे बिच विभेद गरेन। छुत-अछुत भनेर विग्रह र वर्गीकरण गरेनन। उनीहरुले व्यावसायिक सिप र कौशल हुनेहरुलाइ प्रवर्द्धन गरे , नेपालमा जस्तो जातै खसालेर पुस्तौ पुस्ता अपमानित जीवन जिउन बाध्य पारेनन। जब सम्म त्यस देशका जनतालाइ म पनि यो देशको नागरिक हु भन्ने अनुभुति हुदैन तबसम्म मुलुक निर्माणमा अर्थपूर्ण सहभागिता रहदैन।त्यसैकारण आधुनिक युगका नेपालीहरुले राजसस्था विरुद्ध धावा बोले अनि राजसस्था फ्याँक्दिए।व्यवस्था टिक्नु र नटिक्नुमा राज्यले लादेको नीतिनियम द्वारा सिर्जना हुने सामाजिक संरचना र व्यवस्थाले अहम भुमिका राख्दछ। त्यसैले नेपालमा राजतन्त्र फर्किन्छ भन्ने सवाल बुझ्नु अघि राजतन्त्रले कस्तो समाज निर्माण गरेको थियो भन्ने बुझ्नु जरुरी छ।
धेरैले भन्ने गर्छन नेपाल शाह राजाहरुले बनाएको मुलुक हो। ठिकै हो एकीकरण गरे। के त्यो एकीकरण शाह राजाहरु मात्रैले गरेको हो ? आम नागरिकले,सर्वसाधारणले साथ नदिएको भए सम्भव थियो ? त्यस बापत पनि १३ पुस्ता सम्म त रजगज गरे ।इतिहासले जसलाइ जे जिम्मेवारी दिएको थियो पुरा गरेको मान्न, स्विकार्न सकिन्छ।त्यो जिम्मेवारी / योगदान गलत वा सहि के थियो त्यो अध्ययनको अर्को पाटाे हो।
नेपालमा हुने कुनै पनि राजनीतिक परिवर्तन नितान्त नेपाली जनताले मात्रै चाहेर नहुने तथ्यहरु पटक पटक को घटनाहरुले पुष्ठि गर्दछ ।मान्नुस,नमान्नुस हाम्रो राजनीतिक उथलपुथलहरुमा छिमेकी र शक्ति राष्ट्रहरुको प्रत्यक्ष / परोक्ष हस्तक्षेप भएको छ। तिव्वतिहरुको स्वतन्त्रता हरण गर्ने चीनलाइ महान भन्नु परेको छ। कप्लक सिक्किम निलेको भारतलाइ 'अच्छा लोकतान्त्रिक छिमेकी 'भन्नु परेको छ।किनकि हाम्रो अवस्था भनेको यिनिहरु सङै मागेर देश चलाउनु परेको छ।मागेर देश चलाउने, आफै सिर्जना केहि नगर्ने शासकहरुको चरित्र कै कारण आज गणतन्त्र विरुद्ध आवाज उठेको छ।त्यसैले नेपालको राजनैतिक उलटपुलटमा साम्राजवादि शक्ति राष्ट्रहरुपनि महत्त्वपूर्ण फ्याक्टर हो भन्ने बुझ्नु आवश्यक छ।
नेपाली समाजको लागि राजतन्त्र फर्किनु उचित हो या होइन भन्ने सवाल महत्त्वपूर्ण हो। इतिहास साक्षी छ २५० वर्षको नेपाली इतिहासमा नेपाली समाज सशक्त कहिल्यै भएन। केही मानिशहरु भन्ने गर्छन कि राजतन्त्र र राजमुकुट एकताको प्रतिक ! तर सयौ आवाजहरु दबाएर केवल एउटा परिवार /वंशले अख्तियार गरेको एकल निति सयौमा लाद्नु कति न्यायोचित हो ? यस्तो एकल निति अख्तियार गरे पनि सकल नेपालीको जिवनस्तर उकासिएको भए ठिकै मान्थे होलान। राजतन्त्र नै भएर पनि किन बेलायत,जापानको हाराहारीमा मुलुक पुर्याउन सकिएन ? इतिहास साची छ बेलायतमा चादिको मोहोर निर्यात हुन्थ्यो,कोरियामा चामल सहयोग गरिएको थियो। तर के ति चादि निर्यात र चामल निर्यात गरेको बखत तत्कालीन नेपालीहरुले भर पेट खान पाएका थिए ? आङ भरि लुगा लगाउन पाएका थिए ? तसर्थ यस्तो राजतन्त्र नेपाल र नेपालीलाइ नफर्किएकै राम्रो।
गणतन्त्रले के दियो?
१६ वर्षे लक्का गणतन्त्र माथि ३ करोड नेपालीहरुको आम प्रश्न छ 'गणतन्त्र ले के दियो?'।गज्जब त यो छ कि २५० वर्शे राजतन्त्रमा यसरि प्रश्न उठाउन पाइन्नथ्यो।२०० वर्ष अगाडि नै राजतन्त्रले के दियो भनेर नेपालीहरुले प्रश्न गर्न पाएको भए मुलुक अर्कै हुन्थ्यो।
यदि त्यसो हो भने अहिले को गणतन्त्रमा सोर्है आना ठिक भइरहेको छ ? के दलहरुले शासन संचालन प्रक्रिया पुर्ण संवैधानिक र पारदर्शी तरिकाले चलाइरहेका छन ? छैन,पुर्ण रुपमा सहि तरिकाले चलाएका छैनन। यदि आंशिक रुपमा मात्रै गलत भएको छ भने त्यहाँ सुधार को गुन्ज्यायस रहन्छ।सुध्रिनु पर्छ। यहि गणतन्त्र भएकोले तिमिले चलाएको शासन शैली ठिक छैन भन्न मज्जाले पाइएको छ। अभिव्यक्ति स्वतन्त्रताको हक संविधान मै दर्ज छ। भ्रष्टाचार, अपार्दर्शिता, नातावाद, कृपावाद, गुटबन्दी, अदूरदर्शीता अहिलेको मुख्य समस्या हो।
समग्रमा भन्दा अहिले व्यवस्थाको होइन व्यवस्थापकिय क्षमताको समस्या हो। यि समस्याहरु पनि सिमित नेता, घराना र स्वार्थ समूहद्वारा सिर्जित भएको हुनाले कतै गणतन्त्र नै ठिक होइन भनेर नेपाली जनतहरुले प्रश्न गरेका हुन। यसको तात्पर्य दल र नेताहरुले सुधारिएको चुल्होले जस्तै धुवाँ र प्रदुषण रहित कार्यशैली अपनाउनु पर्छ भन्ने हो।१६ वर्ष भित्रै यस्तो प्रश्न उठेको लोकतान्त्रिक गणतन्त्रको दीगोपनको लागि दलहरु सच्चिन आबश्यक छ। नसच्चिए जनताले आवधिक चुनाव मार्फत विस्थापित गर्नु पर्दछ । नाच्न नजान्ने भए नर्तकि फेर्ने हो ! आगन भत्काउने होइन।
विश्वमा केहि देशहरुमा राजतन्त्र फर्किए। अरु देशमा फर्किए भन्दैमा नेपालमा पनि फर्किनु आजको आवश्यकता होइन। राजतन्त्रले केहि सिमित कूल,घराना, व्यक्तिलाई फाइदा होला तर आम नेपालीलाइ फाइदा हुदैन । आजको युगमा राजतन्त्र स्विकार्नु दासत्व स्विकार्नु हो। एक सार्वभौम नागरिकको लागि जनमत द्वारा सर्वोच्च पदमा पुग्ने व्यवस्था कुनै एक बंस परम्परा भन्दा कैयौं गुणा उत्तम हो। तसर्थ गणतन्त्रको सर्वोत्तम विकल्प गणतन्त्र मात्रै हुन् सक्छ ।
(लेखक- रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सदस्य हुन् )
What's Your Reaction?






