रुपन्देही–१ मा उम्मेदवार सिफारिस कुँवरले रास्वपा छाडे, बालेनका सल्लाहकार लम्साललाई टिकट दिएकोमा आपत्ति
काठमाडौं, २२ माघ । पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन्।
उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै पार्टी त्याग गरेको कुवँरले बताएका छन्। समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ ।
रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन साह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो ।
‘म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ, रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले दुई लाख रुपैयाँ खर्च गरेर आएर उम्मेदवार सिफारिस पनि भएँ, प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा रहेँ । तर भएन,’ कुँवरले भने, ‘रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो ।’
रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ । उनले अब आफू रवि लामिछाने वा अरु कसैले भने पनि रास्वपामा नफर्किने जिकिर गरे ।
What's Your Reaction?





