व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री शाह
काठमाडौं, २४ असार । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य, नीति वा नियत नभएको बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले उद्यमी व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै पनि उद्देश्य नभएको र उद्यमी व्यवसायीहरूलाई धरपकड गरेर अर्थतन्त्र अगाडि पनि बढ्न नसक्ने बताएका हुन् ।
परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीसँगको छलफलमा ‘कसैले कसुर गरेको भए त्यसको अनुसन्धान गर्ने अधिकार सरकारलाई भए पनि आरोपितको कुरै नसुनी पक्राउ गर्ने कुरा राम्रो नभएको आफूले बताएको जानकारी दिए । उद्योगी व्यवसायीले कुनै आर्थिक कसुरको आरोप लागेमा दोष प्रमाणित नभएसम्म उद्यमीलाई अग्रिम जमानतको व्यवस्था गर्नुपर्ने माग राखेको अध्यक्ष अग्रवालले बताए।
यस्तो व्यवस्थाले अनुसन्धान जारी रहँदा पनि व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बन्ने उनको भनाइ थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सुस्त हुनुका कारण, उत्पादनमूलक उद्योग विस्तार, रोजगारी सिर्जना, प्राकृतिक स्रोतको उपयोग तथा निजी क्षेत्रका व्यावहारिक समस्याबारे व्यापक छलफल भएको जानकारी दिए।
प्रधानमन्त्री शाहले निजी क्षेत्रका सुझावलाई सकारात्मक ढंगले कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्दै लगानीको वातावरण सुधार तथा निजी क्षेत्रको मनोबल उकास्न काम गर्ने प्रतिबद्धता समेत जनाए ।
What's Your Reaction?





