सुनचाँदी क्षेत्रका महासंघहरूको एकता कतिको अपरिहार्य रहेको छ ?
– हेम राई
नेपालमा हाल सुनचाँदी तथा हस्तकलासँग सम्बन्धित तीनवटा महासंघहरू अस्तित्वमा रहेका छन्— नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ तथा नेपाल हस्तकला महासंघ। यीमध्ये नेपाल हस्तकला महासंघको कार्यक्षेत्र र प्रकृति केही फरक रहेको छ भने नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको उद्देश्य, कार्यक्षेत्र धेरै हदसम्म समान प्रकृतिका छन्। यस लेखमा मुख्यतः यी दुई महासंघबीचको सम्बन्ध, एकताको आवश्यकता तथा एकीकरणको सम्भावनाबारे चर्चा गरिनेछ।
नेपालको सुनचाँदी क्षेत्र देशको महत्वपूर्ण आर्थिक तथा व्यावसायिक क्षेत्रमध्ये एक हो। यस क्षेत्रमा हजारौं व्यवसायी, कालीगढ, कर्मचारी तथा उपभोक्ताको प्रत्यक्ष सम्बन्ध रहेको छ। यस्ता व्यवसायीहरूको हित संरक्षण, नीति निर्माणमा प्रभावकारी भूमिका तथा यस क्षेत्रको समग्र विकासका लागि गठन भएका महासंघहरूबीचको एकता आजको आवश्यकता मात्र होइन, अपरिहार्यता बनेको छ।
सुनचाँदी क्षेत्रले बेला–बेलामा आयात नीति, कर प्रणाली, बैंकिङ व्यवस्था, भन्सार दर, अवैध कारोबार नियन्त्रण तथा बजार व्यवस्थापनजस्ता चुनौतीहरू सामना गर्दै आएको छ। यस्ता साझा समस्यामा महासंघहरू विभाजित हुँदा सरकार तथा सम्बन्धित निकायसमक्ष व्यवसायीहरूको आवाज कमजोर बन्ने गरेको छ।
महासंघहरूबीचको एकताले व्यवसायीहरूको अधिकार संरक्षण मात्र होइन, बजारमा स्थायित्व कायम गर्न पनि सहयोग पुर्याउँछ। विशेष गरी सुनको आपूर्ति, मूल्य निर्धारण, व्यवसायिक मापदण्ड तथा उपभोक्ता विश्वासका विषयमा एकीकृत धारणा आवश्यक देखिन्छ।
अर्कोतर्फ, महासंघहरूबीचको असमझदारी वा विभाजनले व्यवसायीहरूमा अन्योल सिर्जना हुने, एउटै विषयमा फरक–फरक धारणा सार्वजनिक हुँदा व्यवसायी र उपभोक्ता दुवै भ्रमित हुने, जसले सिंगो क्षेत्रको विश्वसनीयतामाथि समेत प्रश्न उठाउने गरेको छ।
एकता भनेको संगठनहरूको अस्तित्व वा विचारको विविधता समाप्त गर्नु होइन, बरु स्वस्थ प्रतिस्पर्धा, रचनात्मक आलोचना तथा फरक दृष्टिकोणलाई सम्मान गर्दै साझा हितका विषयमा एकजुट हुनु हो।
आखिर किन दुई महासंघ एकीकृत हुन सकिरहेका छैनन् ?
यो प्रश्न वर्षौंदेखि सुनचाँदी क्षेत्रभित्र उठ्दै आएको छ। सार्वजनिक रूपमा दुवै महासंघका नेतृत्व र प्रतिनिधिहरू एकताको पक्षमा देखिन्छन्। सभा, सम्मेलन तथा औपचारिक कार्यक्रममा एकीकरणको आवश्यकता औंल्याइन्छ। तर व्यवहारमा भने एकीकरणको प्रक्रिया कहिल्यै निष्कर्षमा पुग्न सकेको छैन।
धेरै व्यवसायीहरूको बुझाइमा महासंघहरूको अस्तित्व जोगाउने नाममा नेतृत्व तहमा देखिएको पदमोह, व्यक्तिगत स्वार्थ तथा शक्ति–केन्द्रित मानसिकताले एकीकरणको मार्ग अवरुद्ध गरिरहेको छ। एकीकरणपछि कसले नेतृत्व गर्ने, कसको प्रभाव बढ्ने वा घट्ने, कुन समूहले कति स्थान पाउने भन्ने विषयहरू नै वास्तविक बाधाका रूपमा देखिएका छन्।
यदि दुवै महासंघ वास्तवमै सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको हक, हित र अधिकारका लागि स्थापित भएका हुन् भने एकीकरणको विषयमा कुनै पनि प्रकारको अहम्, व्यक्तिगत स्वार्थ वा पदलोलुपता बाधक बन्नु हुँदैन। व्यवसायीहरूको साझा समस्या, बजार व्यवस्थापन, सरकारी नीतिसँगको समन्वय तथा व्यवसायिक अधिकारको संरक्षणका लागि एउटै बलियो र प्रतिनिधिमूलक संस्था आजको आवश्यकता हो।
वास्तविकता के हो भने बाहिर एकीकरणको पक्षमा भाषण गर्ने तर भित्री रूपमा विभिन्न बहाना र कारण देखाएर प्रक्रिया अगाडि नबढाउने प्रवृत्तिले व्यवसायीहरूमा निराशा पैदा गरेको छ। यसले नेतृत्वप्रतिको विश्वाससमेत कमजोर बनाइरहेको छ।
एकीकरण नहुनुको अर्को कारण आपसी अविश्वास, विगतका तिक्तता तथा संगठनात्मक संरचनासम्बन्धी मतभेद पनि हुन । तर यस्ता विषयहरू संवाद, सहमति र परिपक्व नेतृत्वबाट समाधान गर्न सकिने विषय हुन्।
संघ–संस्था तथा व्यवसायीहरूको भूमिका
महासंघहरूको एकीकरण केवल नेतृत्व तहको विषय मात्र होइन। यसमा स्थानीय संघ–संस्था, जिल्ला तथा प्रदेशस्तरीय संगठनहरू र सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। नेतृत्वले मात्र चाहेर एकीकरण सम्भव हुँदैन, व्यवसायीहरूको दबाब, सुझाव र प्रतिबद्धता पनि आवश्यक हुन्छ।
सबैभन्दा पहिले, स्थानीय संघ–संस्थाहरूले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ। व्यवसायीहरूको वास्तविक आवश्यकता एकता हो कि विभाजन भन्ने विषयमा खुला छलफल हुनुपर्छ।
दोस्रो, सम्पूर्ण व्यवसायीहरूले व्यक्ति वा समूहभन्दा माथि उठेर संस्थागत हितलाई प्राथमिकता दिनुपर्छ। कुनै एक व्यक्ति, पद वा समूहको स्वार्थभन्दा सम्पूर्ण क्षेत्रको भविष्य महत्वपूर्ण हो भन्ने सोच विकास गर्न आवश्यक छ।
तेस्रो, संघ–संस्थाहरूले एकीकरणका लागि औपचारिक पहल गर्नुपर्छ। संयुक्त बैठक, साझा कार्यदल, समन्वय समिति तथा एकीकरणका आधारहरू तयार गरी प्रक्रिया अगाडि बढाउन सकिन्छ। केवल भाषण र प्रतिबद्धताले मात्र एकता सम्भव हुँदैन, त्यसका लागि व्यवहारिक कदम आवश्यक हुन्छ।
चौथो, व्यवसायीहरूले नेतृत्वलाई जवाफदेही बनाउनुपर्छ। सार्वजनिक रूपमा एकीकरणको पक्षमा बोल्ने तर व्यवहारमा प्रक्रिया अगाडि नबढाउने नेतृत्वसँग व्यवसायीहरूले स्पष्ट जवाफ माग्नुपर्छ। नेतृत्वको मूल्याङ्कन पनि उनीहरूको कामका आधारमा हुनुपर्छ, भाषणका आधारमा होइन।
प्राविधिक रूपमा एकीकरण कसरी सम्भव छ ?
सैद्धान्तिक रूपमा हेर्दा यी दुई महासंघबीच नीति, नियम, उद्देश्य तथा व्यवसायीहरूको हितका विषयमा कुनै तात्विक भिन्नता देखिँदैन। दुवै संस्थाले सुनचाँदी व्यवसायीहरूको हकहितकै पक्षमा काम गरिरहेका छन्। यदि एकीकरण गर्ने नै हो भने प्रारम्भिक चरणमा दुवै महासंघका केन्द्रीय संरचनाहरूलाई आपसी सहमतिमा पुनर्गठन गर्न आवश्यक छ। अन्तरिम संयुक्त समिति गठन गरी नयाँ विधान, प्रतिनिधित्वको आधार तथा संगठनात्मक संरचना निर्माण गर्न सकिन्छ।
त्यसैगरी प्रदेश र जिल्ला तहका संरचनाहरूलाई पनि पुनर्गठन गर्नुपर्छ। संयुक्त जिल्ला भेला, प्रदेश सम्मेलन तथा राष्ट्रिय महाधिवेशनमार्फत एकीकृत संरचना निर्माण गर्न सकिन्छ। यस प्रक्रियाबाट गठन हुने महासंघ शक्तिशाली, लोकतान्त्रिक, समावेशी तथा सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको प्रतिनिधित्व गर्न सक्षम बन्न सक्छ।
अन्ततः, सुनचाँदी क्षेत्रलाई आज आवश्यक परेको कुरा दुईवटा समानान्तर महासंघ होइन, सम्पूर्ण व्यवसायीहरूको साझा आवाज बोल्न सक्ने एउटा सशक्त, प्रभावकारी र एकीकृत महासंघ हो। त्यस्तो महासंघले मात्र सुनचाँदी क्षेत्रको भविष्यलाई थप सुरक्षित, संगठित र प्रभावशाली बनाउन सक्नेछ।
What's Your Reaction?





