१०० ग्राम बारको सुन पनि आयात हुने, साना व्यवसायीलाई सहज हुने अपेक्षा
२९ जेठ, काठमाडौं । अबदेखि वाणिज्य बैंकहरूमार्फत १०० ग्राम बारको सुन पनि आयात हुने भएको छ। यसअघि नेपालमा बैंकहरूले मुख्य रूपमा १,००० ग्राम र ५०० ग्राम बारको सुन मात्र आयात गर्दै आएका थिए।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय कोषाध्यक्ष गणेशप्रसाद लकान्द्रीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको निरन्तर वृद्धिसँगै नेपाली बजारमा पनि सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ। यस्तो अवस्थामा साना तथा मध्यम व्यवसायीलाई सुन खरिद गर्न सहज बनाउने उद्देश्यले महासंघले पटक–पटक दिएको सुझावपछि १०० ग्राम बारको सुन आयात गर्ने व्यवस्था लागू गरिएको हो।
लकान्द्रीका अनुसार अब वाणिज्य बैंकहरूमार्फत ५०० ग्रामका साथै १०० ग्राम बारको सुन पनि भित्र्याउन सकिनेछ। यस व्यवस्थाले कम पूँजी भएका व्यवसायीलाई समेत सुन खरिद तथा कारोबार गर्न सहज हुने विश्वास गरिएको छ।
उनले भविष्यमा ५० ग्राम बारको सुन आयातको व्यवस्था गर्नसमेत महासंघले सम्बन्धित निकायसँग पहल गरिरहेको जानकारी दिए।
हाल लागू गरिएको व्यवस्थाअनुसार व्यवसायीहरूले आफ्नो निर्धारित कोटा अनुसार १०० ग्राम वा सोभन्दा माथिका बारको सुन सिफारिस गर्न सक्नेछन्। महासंघले यो व्यवस्थाले सुन कारोबारलाई थप व्यवस्थित बनाउन तथा व्यवसायीहरूको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।
What's Your Reaction?





