जम्मु कश्मीरको आतंकवादी हमलामा नेपालका सुदीपको मृत्यु, नेपाल सरकारद्वारा घटनाको निन्दा

 0  62
जम्मु कश्मीरको आतंकवादी हमलामा नेपालका सुदीपको मृत्यु, नेपाल सरकारद्वारा घटनाको निन्दा

काठमाडौं, १० वैशाख । भारतको जम्मु कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा परेर एक नेपालीको मृत्यु र अर्का एक जना घाईते भएको बताइएको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणाका अनुसार रुपन्देहीको बुटवल ११ कालिकानगरका सुदीप न्यौपानेको भारतको जम्मु कश्मीरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा परेर मृत्यु भएको हो। घुमघामका लागि त्यहाँ पुगेका सुदीपको गोली लागेर मृत्यु भएको हो भने सुदीपकी आमा घाईते भएको बताइएको छ ।

दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका गरी २७ जना मारिएको उल्लेख छ। मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ ।

भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् जम्मु कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता हिंसात्मक कार्यहरू अत्यन्तै निन्दनीय छन् र कडाभन्दा कडा शब्दमा भर्त्सना गर्नुपर्छ ।’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’

परराष्ट्र मन्त्रालयले पनि भारतमा भएको आतंकवादी हमलाको घोर भर्त्सना गरेको छ । ‘नेपालले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको बर्बर आतंकवादी हमलाको घोर भत्र्सना गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘शोकाकुल परिवारहरूप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं ।’

परराष्ट्र मन्त्रालयले शोकको यस घडीमा भारत सरकार तथा भारतीय जनताप्रति नेपालले ऐक्यबद्धता प्रकट गरेको पनि उल्लेख गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow