अब हङकङ हुँदै यात्रा गर्ने नेपालीले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने
काठमाडौं, २८ कात्तिक । हङकङ सरकारले नेपाली राहदानी भएका यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको छ ।
नोभेम्बर १५ बाट लागू हुने गरी नेपाली यात्रुका लागि हङकङ ट्रान्जिट भिसा अनिवार्यताको व्यवस्था हटाएको हो । नेपाली नागरिकलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्दा अनिवार्य ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो।
विश्वका अत्यन्त व्यस्त विमानस्थलमध्ये एक मानिने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भिसा अनिवार्यताका कारण नेपाली यात्रुले लामो समयदेखि झन्झट र असुविधा भोग्दै आएका थिए। नयाँ निर्णयसँगै नेपालबाट अन्य देश तथा अन्य देशबाट नेपाल यात्रामा हङकङ ट्रान्जिट हुने नेपाली यात्रुलाई अब सहज र झन्झटमुक्त यात्रा हुने विश्वास व्यक्त गरिएको छ।
दूतावासले ट्रान्जिट भिसा खारेजीले नेपाली यात्रुलाई हङकङमार्ग हुँदै यात्रा गर्न थप प्रोत्साहन मिलने र यस कदमले नेपाल(हङकङबीचको द्विपक्षीय सम्बन्ध सुदृढ हुने उल्लेख गरेको छ। निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।
What's Your Reaction?





