जिफन्टसँग श्रमिकहरुले सोधे -'महंगी बढ्यो, ज्याला बढेन'

 0  23
जिफन्टसँग श्रमिकहरुले सोधे -'महंगी बढ्यो, ज्याला बढेन'

धरान, ३० कात्तिक । मजदुर बाहुल्य धरानका विभिन्न क्षेत्रका मजदुरहरुसँग जिफन्टले संवाद गरेको छ । जिफन्टले निर्माण मजदुर, यातायात मजदुर, उद्योगमा काम गर्ने मजदुर, अटो मेकानिक्स मजदुर, सुरक्षा श्रमिक, सरसफाइ मजदुर, लोडअनलोड मजदुर, स्वास्थ्य स्वयमसेवी मजदुर र सौन्दर्यकर्मी मजदुरहरुसँग संवाद गरेको हो । 

शनिबार धरानमा जिफन्ट नगर कमिटीले आयोजना गरेको संवाद कार्यक्रममा स्वास्थ्य स्वयमसेवी मनकुमारी लिम्बूले वर्षौदेखि आफुहरुले ४ सय भत्तामा काम गर्नु परि रहेको बताए । उनले भने, 'हामीले दिनरात, घामपानी काम गर्नु परेको छ । तर, स्वयमसेवीका लागि स्थानीय सरकारले त वास्ता गरेन प्रदेश र संघ सरकारले पनि ध्यान दिएन । हाम्रो बारेमा जिफन्टले बोलिदिनु पर्‍यो ।'

लोडअनलोड गर्ने श्रमिक अमर राईले आफुहरु उद्योगी व्यवापारीको दबावमा काम गर्नु परेको पीडा पोखे । राईले भने, 'वर्षौ एउटै ज्याला छ, उपभोग्य सबै सामग्रीको भाउ बढ्छ तर हाम्रो ज्याला बढ्दैन। हामीले कहिलेसम्म थोरै ज्यालामा हाम्रो श्रम बेच्नु ? जिफन्टले तत्काल श्रमको दररेट कायम गरिदिनुपर्छ', राईले आग्रह गरे । 

त्यस्तै निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको सूचिकरण गरेर सामाजिक सुरक्षामा समावेश गराउन धरानका मेयर हर्क राईका कारण नसकिएको निर्माण मजदुर मुक्तिनाथ गिरीले बताए । धरानमा निर्माण मजदुर कति छन् ? अहिलेसम्म किटान छैन। उनीहरुले पाउने ज्याला कति हो ? स्थानीय सरकारले निर्धारण गर्न सकेको छैन । अब सबै मजदुरहरु मिलेर नगर सरकारसँग कुराकानी गरेर पहल थाल्नु पर्छ र जिफन्टले अगुवाई गर्नुपर्ने गिरीले धारणा राखे । 

अटो मेकानिक्स मजदुर हरी भट्टराईले विद्युत्तिय सवारीसाधनको आयातमा वृद्धि भएसँगै मेकानिक्स मजदुरहरु बेरोजगार बन्दै गइरहेको बताए। स्थानीय सरकारको नीति प्रष्ट नभएकाले भारतीय नागरिकहरु प्रत्येक दिन धरान आएर काम गर्ने र साँझ भारत नै फर्किनेहरुको संख्या उल्लेख्य रहेको उनले बताए । 

जेनजी आन्दोलनपछि बद्लिएको राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम अन्तर्गत धरानमा भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्की, सचिव बेलीमाया घले, सदस्य भीमज्वाला राई लगायतका नेताहरुले उठेको सवालहरुमा योजना सहितको जवाफ दिएका थिए । 

जिफन्ट नगर अध्यक्ष शमशेर बर्देवाको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यबारे मजदुर नेता भीमज्वाला राईले प्रष्ट पारेका थिए । जिफन्टका उपाध्यक्ष तथा अभियानका कोशीको संयोजक विदुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरानका ४५ जना अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव डम्बर अधिकारीले गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow