निरन्तरको वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित, ‘डाइभर्ट’ गरिँदै जहाजहरु
काठमाडौं, १३ कात्तिक । प्रतिकूल मौसमका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
गएरातिदेखि परिरहेको निरन्तर झरीले गर्दा मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले हवाई उडान प्रभावित भएको हो । विमानस्थल कार्यालयका अनुसार आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ भने पोखरा विमानस्थलमा आगमन सेवा बन्द गरिनुका साथै ‘डिपार्चर’ मात्रै खुलेको छ।
यस्तै खराब मौसमका कारण आज बिहान विराटनगरबाट काठामाडौंको लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेर पुनः विराटनगर नै फर्किएको छ । काठमाडौंको मौसम खराब हुँदा विमान अवतरणमा समस्या भएको बताइएको छ।
यता कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ । दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।
What's Your Reaction?





