अनुमतिबिना घुम्ती व्यापार गर्न नपाइने
कञ्चनपुर, २२ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमतिबिना अनधिकृत रूपमा घुम्ती व्यापार, व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।
नगरपालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनि ट्रकलगायत सवारीसाधनमार्फत पूर्व स्वीकृति बिना व्यापार, व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो । हाल नगरपालिकाको पूर्वस्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेमा अधिकांश भारतीय नागरिक रहेका पाइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्वस्वीकृति नलिई ढुवानी तथा सवारीसाधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने छ ।
नगरपालिकाले सडक अतिक्रमण हटाउन, अनधिकृत व्यापार रोक्न र सर्वसाधारणलाई सचेत पार्नका निम्ति नगर प्रहरी समेत परिचालन गरी निरन्तर रूपमा अनुगमन तथा सचेतीकरण कार्य गरिरहेको जनाएको छ ।
नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन स्थानीय सडक, सडक किनारा र अरू सार्वजनिक स्थानमा पशुचौपाया बाँध्ने एवं बालुवा, गिट्टी, ढुंगा, काठ, इँटा, माटोलगायत निर्माण सामग्री थुपार्ने कार्य नगर्न समेत आग्रह गरेको छ ।
What's Your Reaction?





