निर्वाध पेशा, व्यवसाय गर्ने वातावरण बनाईदिन उद्योग वाणिज्य महासंघको आह्वान

 0  17
निर्वाध पेशा, व्यवसाय गर्ने वातावरण बनाईदिन उद्योग वाणिज्य महासंघको आह्वान

काठमाडौं, २७ भदौ । नेपाल उद्योग वाणिज्य महासंघले देशभर निर्वाध रुपमा पेशा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान गरेको छ ।

देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दैै महासंघले शुक्रबार विज्ञप्ति निकाल्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड र आगजनीका घटनाको महासंघले घोर भत्सर्ना गरेको छ ।

उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर अर्बौ रुपैयाँ बराबरको क्षति भएको महासंघको भनाइ छ ।  क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ । निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न आग्रह गरिएको छ ।

निषेधाज्ञा एवम् कर्फ्युको समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावतमा सहजीकरण गर्न भनिएको छ । आवश्यक वस्तु, औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थको ओसारपसार सहजीकरणमा समेत महासंघले आग्रह गरेको छ । केन्द्र, प्रदेश र जिल्लास्तरमा रहने सुरक्षा समितिमा महासंघ र महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता गराउन आग्रह गरिएको छ।

यसैगरी गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरिएको छ । आपूर्ति सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवम् वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरिएको छ ।

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न तयार रहेको जनाउँदै महासंघले नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि आग्रह गरेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow