अमेरिकाबाट फर्काईएका ८ नेपालीलाई प्रहरीको जिम्मा लगाइयो
काठमाडौं, २१ फागुन । आधिकारिक कागजातबिनै अमेरिकामा बसोबास गरिरहेका ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको छ ।
अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको उक्त चार्टर विमानमा सवार एक महिला र सात पुरुष गरी ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडेका हो ।
अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । अहिले ती आठ जनालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई सोधपुछका लागि प्रहरीको जिम्मा लगाएको हो।
उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा अमेरिका पठाउने गिरोहको बारेमा खुल्न सक्ने भएकाले सोधपुछका लागि लगिएको हो ।
मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
What's Your Reaction?





