सरकारले तोकेको दूधको मूल्य नपाएको दुग्ध उत्पादक किसानको गुनासो

 0  78
सरकारले तोकेको दूधको मूल्य नपाएको दुग्ध उत्पादक किसानको गुनासो

चितवन,१९ फागुन । सरकारले तोकेको दूधको मूल्य आफूहरुले नपाएको गुनासो दुग्ध उत्पादक किसानले गरेका छन् । निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको र विकल्प नहुँदा आफूहरु सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसानहरु बताउँछन् ।

भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो । राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेका छन् । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालका अनुसार,“दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै मूल्य घटाउने गरेका हुन ।” अहिले दूध र दुग्धजन्य पदार्थ आयात हुँदा सस्तोमा पाउने भएकाले नेपाली किसान मर्कामा परेका हुन । जिल्लामा रहेका एकसय १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाबाट देशका ४० भन्दा बढी ठूला दुग्ध उत्पादक कम्पनीले दूध लाने गरेको भए पनि राज्यले तोकेको मूल्य भन्दा कममा दूध बेच्न बाध्य भएको उनले बताए । 

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिरका उद्योगले खपत गर्ने गरेका छन् । विगत ६ महिनादेखिको दूधको भुक्तानी नपाएका किसानलाई आफूले भनेको मूल्यामा दूध नपाए भोलिबाट दूध लिन आउँदिन भन्ने गरेको उनले बताए।  

भुक्तानी माग्दा दूध लिन नआउने डरमा किसान रहेको उनको भनाइ छ । अहिले जिल्लाका किसानले रु ८० करोड भन्दा बढी  भुक्तानी पाउन सकेका छैनन् । भदौ देखियता दुग्ध विकास संस्थान र निजी कम्पनीबाट दुग्ध उत्पादक किसानले भुक्तानी नपाएका हुन ।

संस्थानको रु ३५ करोड भुक्तानी हुन बाँकी रहेको उनी बताउँछन् । जिल्लामा अहिले ४० हजार बढी दुग्ध उत्पादक किसान रहेका छन् । उनीहरुको समस्या समाधानका लागि राज्यले चासो नदेखाउँदा किसान चिन्तित बनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow