अब अन्य जिल्लावासीले पनि काठमाडौंबाटै नागरिकताको प्रतिलिपि पाउने
काठमाडौं, ११ कात्तिक । अब काठमाडौं उपत्यकाबाट अन्य जिल्लाका नेपाली नागरिकले पनि नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दैआफ्नो नागरिकता आगलागी वा पानीले भिजी नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउने जानकारी दिएको छ ।
सूचनाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरिएको छ।
नागरिकताको प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिनेछ।
तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकता बाहकलाई भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गरिएको हो।
What's Your Reaction?





