असोज ९ गतेदेखि अत्यधिक वर्षाको सम्भावना छ, सतर्क रहनुहोला : प्रधानमन्त्री शाह
काठमाडौं, ७ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सबैलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।
मौसम विभागले असोज ९ शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएसँगै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका हुन् ।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत प्रधानमन्त्री बालेनले अनुरोध गरेका छन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, ‘मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भू-भाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ । सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न तथा सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ ।’
What's Your Reaction?





