आइतबारदेखि काठमाडौंका यी ६ स्थानबाट ग्यास बिक्री तथा साटफेर गर्न सकिने
काठमाडौं, २३ असोज । काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट आइतबार असोज २५ गतेदेखि एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ।
उपत्यकामा ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि नजिकिँदै गरेको चाँडपर्वको समयमा केही उपभोक्ताले सहजै ग्यास नपाएको र अरु ब्रान्डको सिलिन्डर साटफेर गर्न व्यवस्था नहुँदा समस्या भएको गुनासो गरेपछि नेपाल एलपी ग्यास उद्योग संघले हरेक दिन बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्मका लागि उपत्यकाका विभिन्न ६ स्थानमा ग्यास बिक्री वितरण तथा साटफेर गर्न लागेको हो ।
संघले असोज २५ गतेदेखि असोज ३१ गते शनिबारसम्म लागू हुने गरी काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
तोकिएका यी विशेष बिक्री केन्द्रहरूबाहेक अन्य स्थानमा भने यसरी सिलिन्डर साटफेर नहुने संघले स्पष्ट पारेको छ । नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा यो व्यवस्था लागू गरिएको हो । उपभोक्ताले आफ्नो सहजताका लागि ती केन्द्रहरूमा फोनमार्फत पनि सम्पर्क गर्न सक्नेछन् ।
What's Your Reaction?





