उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली वस्तु निर्यातमा लागौं : उद्योगमन्त्री भण्डारी

 0  50
उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली वस्तु निर्यातमा लागौं : उद्योगमन्त्री  भण्डारी

काठमाडौं, २५ वैशाख । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी–व्यवसायीलाई उत्पादन र उत्पादकत्व बढाउँदै निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरेका छन् ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौँ संस्करणको बिहीबार उद्घाटन गर्दै मन्त्री भण्डारीले सरकारले औद्योगिक विकास, स्वदेशी उत्पादन बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरण प्रयास गरिरहेको बताएका हुन् । मन्त्री भण्डारीले सरकारले निजी क्षेत्रको आवाज सुनेको र अब नेपाली उद्योगी व्यवसायीले उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिए ।

काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न सहयोग पुर्‍याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे । देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको उनको भनाइ छ ।

मन्त्री भण्डारीले भने, ‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावना पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्ने छ भन्ने मेरो विश्वास छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोग, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजदेखि सुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ । मेलामा निःशुल्क प्रवेश गर्न सकिने आयोजकले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow