ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले गरे १०६ मेगावाटको जगदुल्ला आयोजनाको मुख्य सुरुङ उद्घाटन
१९ असार ,डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठ ले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने बताउनुभयो। उहाँले आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, स्थानीय समुदाय तथा सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
ऊर्जा मन्त्रालयका सचिव सरिता कुमारी दवाडी ले स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगका कारण आयोजना निर्माण सहज रूपमा अघि बढिरहेको बताउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो।
जगदुल्ला हाइड्रोपावर कम्पनी का प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटा का अनुसार आयोजना विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको महत्वपूर्ण आधार बन्नेछ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता तथा स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको यो आयोजना मुलुककै नमूना परियोजनामध्ये एक रहेको उहाँले बताउनुभयो।
What's Your Reaction?





