एमालेको जागरण सभा दरबारमार्गमा हुने
काठमाडौं । एमालेले मंसिर ७ गते गर्ने जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ। जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन जागरण सभा आयोजना गर्न लागिएको बताउँदै एमालेले सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ।
पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरबारमार्गमा गर्ने निर्णय गरिएको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डपमा नअट्ने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले बताए।
जागरण सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नेछन्। भद्रकालीबाट सुरु भएको जुलुस न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क हुँदै त्रिचन्द्र क्याम्पस अगाडिबाट दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ।
What's Your Reaction?