काठमाडौंका थप नयाँ रुटमा साझाको रात्रिकालीन बस सेवा विस्तार

 0  5
काठमाडौंका थप नयाँ रुटमा साझाको रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं, ४ असोज । संविधान दिवसको अवसर पारेर साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ।

शनिबारदेखि बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्। यससँगै यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा ७ वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो। हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार गरिएको हो। 

कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समयसमेत समायोजन गरिने जनाइएको छ। 

रिङरोड परिक्रमाको रुटमा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै भक्तपुर–ठमेल, बुढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल–ट्रेकल तथा कीर्तिपुर–जमललगायत रुटमा पनि यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिनेछ।

 नयाँ सेवाबाट कार्यालय, व्यवसाय तथा अन्य कामका लागि अबेरसम्म आवतजावत गर्ने यात्रु, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा रात्रीकालीन सेवामा कार्यरत नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow