डा. गोविन्द केसीद्वारा फेरि सत्याग्रहको घोषणा, यी हुन् सरकारसमक्ष राखेका माग

 0  8
डा. गोविन्द केसीद्वारा फेरि सत्याग्रहको घोषणा, यी हुन् सरकारसमक्ष राखेका माग

काठमाडौं, ६ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

सरकारले आफ्ना मागहरू बेवास्ता गरेको भन्दै केसीले दार्चुला पुगेर सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्। बुधबार केसीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु सम्बोधन गर्न सरकारले साउन ५ गतेसम्म समयसीमा दिएको भए पनि कुनै प्रतिक्रिया नआएकाले अब साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारप्रति सरकारले देखाएको असंवेदनशीलताका कारण म साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्दै छु। यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्नेछ ।’

डा. केसीले सरकारसमक्ष राखेका मागहरु :-

१. स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस्।

२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस्।

३. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस्। साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस्।

४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस्।

५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow