प्राधिकरणको निर्देशन विपरीत बढी मूल्यमा इन्टरनेट बेच्ने १४ कम्पनीलाई जरिवाना

 0  11
प्राधिकरणको निर्देशन विपरीत बढी मूल्यमा इन्टरनेट बेच्ने १४ कम्पनीलाई जरिवाना

काठमाडौं, २७ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

जरिवानामा पर्ने सेवा प्रदायकमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रा.लि, क्लासिक टेक प्रा.लि, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रा.लि, फाइबरवर्ल्ड कम्युनिकेसन प्रा.लि, भायानेट कम्युनिकेसन्स लिमिटेड, एरोनेट प्रा.लि, डिश मिडिया नेटवर्क लिमिटेड, वाइफाइ नेपाल प्रा.लि, सिजी कम्युनिकेसन लिमिटेड, वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड, फर्स्ट लिङ्क कम्युनिकेसन प्रा.लि, पोखरा इन्टरनेट प्रा.लि, टेकमाइन्ड्स नेटवर्क लिमिटेड र सुबिसु लिमिटेड रहेका छन्।

प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट सेवा प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशनसमेत दिएको छ । प्राधिकरणको निर्देशन नमानेको, स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कारबाही गरिएको हो।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि सेवा प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन र स्वीकृतिबिना कुनै पनि प्याकेज सञ्चालन नगर्न सचेत गराएको छ । प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका सर्त पूर्ण रूपमा पालना गर्न पनि निर्देशन दिइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow