फुटसल प्रतियोगिता–२०८३ को उपाधि सुनचाँदी कला व्यवसायी संघलाई
३१ असार, काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको १०औँ स्थापना दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगिता–२०८३ को उपाधि सुनचाँदी कला व्यवसायी संघले जितेको छ।
शनिबार ललितपुर महानगरपालिका–१४, नखिपोटस्थित फुटसल भिलेजमा सम्पन्न फाइनल खेलमा सुनचाँदी कला व्यवसायी संघले शिल्प व्यवसायी संघलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।
यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा हस्तकला संघले कालिगढ संघलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा अनुशासित टोलीको उपाधि ललितपुर सुनचाँदी संघले प्राप्त गरेको छ। काठमाडौं उपत्यकाका सुनचाँदी क्षेत्रसँग आबद्ध १० वटा संघ–संस्थाको सहभागिता रहेको उक्त प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र उत्साहजनक बनेको थियो।
प्रतियोगिताको उद्घाटन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनार ले गरेका थिए।
विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवा, संस्थापक अध्यक्ष गणेशप्रसाद लाकान्द्री तथा निवर्तमान अध्यक्ष डम्बर बराइली ले मेडल, शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।
मञ्चले स्थापना दिवसको अवसरमा खेलकुदमार्फत सुनचाँदी व्यवसायीबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ।
What's Your Reaction?





