यसरी जन्मियो YAWAZ (यावाज़ - तपाईको साथी )
1.
उन्नत जीवनको खोजी मानव स्वभाव हो । पहिलेभन्दा अहिले अनि हिजो भन्दा आज उ आफुलाई अगाडि लैजान चाहन्छ क्रमस यसरी नै मानव जातिले आफुलाई अन्य प्राणि जगतभन्दा माथि राख्न सफल भएका हुन् ।यसरी अवसरहरुको खोजीमा हिड्ने क्रममा नेपालका एउटा पहाडी दुर्गम जिल्लाहरुबाट सुरु भएको हाम्रो यात्राहरु विश्वका विभिन्न देशहरुसम्म विस्तार भई सकेको अहिलेको अवस्था हो र यो निरन्तर चलिनै रहने छ ।अवसरहरुको खोजीमा थातथलो छाड्ने क्रममा हाम्रो पुर्खौली भूमिहरु बिरानो बन्दैछ, गाउँबस्तीहरु खाली हुदैछन, रितिदैछन् र त्यहाको जनजीवनहरु अझ कष्टकर बन्दै गइ रहेको छ ।
प्रत्यक्ष होस वा अप्रत्यक्ष हामी पनि सो भूमी र माटोसँग जोडिएका छौ, सो थातथलो सँग हाम्रो पनि नाता अनि सम्बन्ध छ । आफुले सकेको सानो तिनो सहयोग अनि योगदानहरु हामीले गनै पर्छ भन्ने सोच अनि अठोटले जन्म लियो YAWAZ (यावाज़ - तपाईको साथी )
हिजोका दिनहरुमा धरान-११ निवासी श्री प्रकाश राईको नेतृत्वमा आफ्नो पितृ अनि पुर्खाहरुको नामहरुमा वितरण गरिदै आएको शैक्षिक सामग्री, विद्यालय पोशाक आदि कार्यको बिस्तार अगाडी बढ्दो छ । केहि समय अगाडी मात्रै भोजपुर जिल्लाको दुर्गम सरकारी विद्यालयहरुमा जाडोमा लगाउने न्यानो स्विटर तथा शैक्षिक सामग्रीहरुको वितरणले यो कार्यको पुष्टि हुन्छ । आफ्नो क्षमताले भ्याएसम्म र सकेको सामाजिक कार्यमा निरन्तरता रहने नै छ । सामाजिक रुपान्तरण अनि मानव विकाशको मूल मंत्र नै ज्ञान अनि शिक्षा रहेको हाम्रो ठहर अनुसार मुख्य रुपमा हामी विद्यालयहरुका साना बालबालिकाहरुप्रति केन्द्रित रहने गरेका छौ । आज हाम्रो सानो सहयोगले उनीहरुको जीवन अनि समाज र देशमा थोरै भए पनि परिवर्तन ल्याउने हाम्रो विश्वास छ ।
मुख्य रुपमा पहाडी जिल्लाहरुमा जाडोको बेला अतिनै जाडो हुने कारणले बालबालिकाहरु विद्यालय नआउने, अभिभावकहरुसँग जाडोको लागि आफ्नो बालबच्चाहरुलाई कपडा किनिदिने रकमको अभावले विगतका वर्षहरुमा घर नै बस्नुपर्ने समस्या भोगी रहेको अवस्थामा हामीले उपलब्ध गराएको स्विटर लगाएर यसपाली बालबालिकाहरु जाडो महिनामा पनि विद्यालय आउँन पाउने दिन्ग्लाका एक शिक्षकको कुराले अलिकति भावुक अनि अलिकति खुशी बनाएको छ । हाम्रो सामान्य सहयोगले पनि कसैको जीवनमा ठुलो महत्व राख्दछ भन्ने हामीलाई हेक्का भएको छ । हाम्रो समुहको संचालन कुनै दातृ निकाय, नेपाल सरकारको अनुदान आदिबाट चल्ने नभई तपाई हामी जस्तै मनकारीहरुबाट आफ्नो पितृ, पुर्खाहरुको सम्झना, जन्मोत्सव आदिमा प्राप्त सहयोगबाट चल्ने गरेको छ । यसमा सबैको साथ अनि सहयोगको अपेक्क्ष पनि गरेका छौ ।
अन्त्यमा, आफु रित्तीएर सहयोग गर्ने हाम्रो यो उद्देश्य होइन, बरु नचाहिने खर्च, आफुसँग बचेको सानो तिनो रकम हामीलाई प्राप्त भएमा सानो सानो सहयोगलाई एकमुष्ट गरिदिनु भएमा हामी वहाहरु सम्म पुर्याई दिनेछौ जसलाई यसको अति आवश्यकता छ ।
आखिरी !
खाने एक छाक नै हो !
जाने घाट नै हो ...
What's Your Reaction?