यो पटक राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी बनौँ : राजेन्द्र लिङदेन
काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् ।
भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने भन्दै अध्यक्ष लिङदेनले मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका हुन् । बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादक पदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गर्दैसत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने चेतावनी समेत दिए।
अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याए । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५/६ वर्षभित्रै देशको मुहार फेरिने बताए । अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराए ।
कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि एकचोटि राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गर्दै उनले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपिल गरे ।
उनले भने, ‘अहिले पनि भोट दिने बेला आएको छ । त्यसमाथि पनि यो भोट विशेष अवस्थामा आएको छ । त्यसकारण यो भोटमा तपाईंले मतदान गर्नुभन्दा अगाडि हजारचोटि सोचेर विचार गरेर मात्रै मतदान गर्नुस् भनेर आएको छुँ । चुनावभन्दा अगाडि राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीच नयाँ समझदारी गरौँ, देशमा नमिलेका विषयहरु मिलाऔँ, निषेधको राजनीति हामीले लामो समयसम्म गर्यौं । अब कसैले कसैलाई निषेध गर्ने अथवा कसैले हार्ने होइन कसैले नहार्ने देशले जित्ने नयाँ समझदारी गरेर अगाडि जाऔँ अनि चुनावमा जाऔँ । यसो भयो भने फेरि भविष्यमा कसैले विद्रोह गर्नुपर्दैन कसैले आन्दोलन गर्नुपर्दैन भनेर भन्यौँ ।’
What's Your Reaction?





