रवि बस्ने कोठासँगै खुल्ला ट्वाइलेट छ, कोठामा हावा पास हुँदैन : आयोग
काठमाडौं, २७ साउन । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपाका सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठासँगै खुल्ला ट्वाइलेट रहेकाले स्वास्थ्यका दृष्टिकोणले उक्त कोठा उपयुक्त नभएको निष्कर्ष निकालेको छ ।
लिली थापासहित आयोगको टोलीले सोमबार गरेको रूपन्देही कारागारको अनुगमनबारे विज्ञप्तिमार्फत जानकारी दिँदै रवि लामिछानेलाई राखिएको रुपन्देही कारागारको कोठामा हावा पास नहुने, कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुल्ला ट्वाइलेट रहेकाले स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको निष्कर्ष निकालेको हो ।
रूपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरूले प्राप्त गर्न नसकेको, बेलाबेलामा कारागारभित्र सर्पहरू पस्ने गरेको र कतिपय आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको भन्ने जानकारी अनुगमनका क्रममा पाइएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यस्तै, अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले जनाएको छ ।
What's Your Reaction?





