रुसमा श्रीमान् बेपत्ता, खोजीमा पुगेकी श्रीमतीको हृदयघातबाट मृत्यु

 0  9
रुसमा श्रीमान् बेपत्ता, खोजीमा पुगेकी श्रीमतीको हृदयघातबाट मृत्यु

१५ जेठ, गण्डकी। चरम गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले गहिरो पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहादुर लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको खोजीमा त्यहाँ पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि हृदयघातबाट मृत्यु भएपछि तीन सन्तानसहित परिवारमाथि बज्रपात परेको हो।

बर्दियाको बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ४३ वर्षीय ज्ञानबहादुर सुरुमा दुबई जाने तयारीमा रहेका थिए। तर एजेन्टसँगको सम्पर्कपछि उनी रुस पुगेका थिए। लामो समयसम्म सम्पर्कविहीन रहेका ज्ञानबहादुर युक्रेन युद्धसँग जोडिएका क्षेत्रमा पुगेको र मारिएको खबरपछि उनकी श्रीमती इन्दिरा थप चिन्तित बनेकी थिइन्।

श्रीमान्को अवस्था बुझ्न र परिवारको भविष्य जोगाउने आशामा ४० वर्षीया इन्दिरा तीन सन्तानलाई लिएर पोखराको बाटुलेचौरमा मजदुरी गर्दै जीविकोपार्जन गरिरहेकी थिइन्। श्रीमान्को कुनै भरपर्दो खबर नआएपछि हारगुहार गर्दै उनी खोजीका लागि रुस पुगेकी थिइन्।

रुस पुगेपछि उनी हृदयघातका कारण बिरामी परेकी थिइन्। उपचारकै क्रममा गत वैशाख ३१ गते इन्दिराको मृत्यु भएको परिवारले जनाएको छ। अहिलेसम्म शव परीक्षण रिपोर्ट आउन नसकेको र आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउनसमेत कठिनाइ भइरहेको आफन्तजन बताउँछन्।

इन्दिराका कान्छा छोरा आठ वर्षीय सौरव थापामगर कक्षा ३ मा अध्ययनरत छन्। मुटुमा समस्या रहेका सौरवको नियमित उपचार आवश्यक भए पनि आर्थिक अभावका कारण उपचार प्रभावित भएको छ। ठूलो छोरा निरज थापामगरले आमाले घर राम्रोसँग हेर्नु र भाइबहिनीको ख्याल गर्नु भनेर सम्झाएर गएको सम्झँदै अहिलेको अवस्था असह्य बनेको बताए।

“बुवाको निधनको पुष्टि भएपछि कुशको शव बनाएर दाहसंस्कार गर्‍यौँ,” भावुक हुँदै २४ वर्षीय निरजले भने, “बुबाको किरिया गरेको एक वर्ष नपुग्दै आमाको पनि निधन भयो, अब के गर्ने?”

थापामगर परिवारको यो पीडा एउटा परिवारको निजी शोक मात्र होइन, जोखिमपूर्ण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको कठोर यथार्थ पनि हो। गरिबी, बेरोजगारी र दलालको जालोले नेपाली युवालाई युद्धग्रस्त भूमिसम्म धकेलिरहेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow