सही हिरा कसरी चिन्ने र यसको मूल्य निर्धारण कसरी हुन्छ ?
हेम राई
हिरा संसारकै सबैभन्दा मूल्यवान र आकर्षक रत्नमध्ये एक हो। गहना, लगानी, विलासिता र प्रतिष्ठासँग जोडिएको हिराको प्रयोग नेपालमा पनि बढ्दै गएको छ। विशेषगरी विवाह, इन्गेजमेन्ट, उपहार तथा ब्रान्डेड ज्वेलरीमा हिराको माग बढ्दो देखिन्छ।
हिरा प्राकृतिक रूपमा पृथ्वीभित्र अत्यधिक ताप र दबाबमा बनेको कार्बनको क्रिस्टल हो। गहनामा प्रयोग गर्न योग्य हिरालाई जेम क्वालिटी डायमण्ड भनिन्छ। सबै हिरा गहनाका लागि उपयुक्त हुँदैनन्। रङ, चमक, पारदर्शिता, तौल र आकारका आधारमा हिराको गुणस्तर र मूल्य फरक–फरक हुन्छ।
बजारमा मुख्य रूपमा प्राकृतिक हिरा र प्रयोगशालामा बनाइएको हिरा पाइन्छ। प्राकृतिक हिरा पृथ्वीभित्र बनेको हुन्छ भने प्रयोगशालामा बनाइएको हिरा कृत्रिम रूपमा तयार गरिन्छ। प्रयोगशालामा बनाइएको हिराको रासायनिक संरचना प्राकृतिक हिरासँग मिल्दोजुल्दो भए पनि यसको मूल्य प्राकृतिक हिराभन्दा कम हुने गर्छ।
त्यस्तै, बजारमा मोजोनाइट, क्युबिक जर्कोनिया र ग्लास स्टोन जस्ता हिराजस्तै देखिने नक्कली वा वैकल्पिक पत्थरहरू पनि पाइन्छन्। यी वास्तविक हिरा नभएकाले ग्राहकले खरिद गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
सही हिरा चिन्न सबैभन्दा भरपर्दो आधार प्रमाणपत्र हो। हिरा किन्दा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ल्याबबाट जारी गरिएको प्रमाणपत्र भएको हिरा किन्नु सुरक्षित मानिन्छ। प्रमाणपत्रमा हिराको तौल, आकार, रङ, शुद्धता, कटिङ, साइज तथा अन्य विवरण स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्छ।
हिराको गुणस्तर र मूल्य निर्धारणमा चार सी अर्थात् ४C महत्वपूर्ण मानिन्छ। ती हुन्– Carat, Cut, Color र Clarity।
Carat भनेको हिराको तौल हो। क्यारेट बढ्दै जाँदा हिराको मूल्य पनि सामान्यतया बढ्दै जान्छ। तर तौल मात्र हेरेर हिराको मूल्य निर्धारण हुँदैन।
Cut भनेको हिरा कसरी काटिएको छ भन्ने हो। राम्रो कटिङ भएको हिरा बढी चम्किलो र आकर्षक देखिन्छ। क्यारेट ठूलो भए पनि कटिङ कमजोर भएमा हिराको चमक राम्रो नदेखिन सक्छ।
Color भनेको हिराको रङ हो। सामान्यतया D Color सबैभन्दा राम्रो मानिन्छ। D, E र F उच्च गुणस्तरका कलर ग्रेड हुन् भने G, H र I पनि बजारमा प्रयोग हुने राम्रो ग्रेड मानिन्छन्।
Clarity भनेको हिराभित्र देखिने दाग, चिन्ह वा शुद्धताको अवस्था हो। प्राकृतिक हिरामा कहिलेकाहीँ भित्र साना चिन्हहरू देखिन सक्छन्। यी चिन्हको मात्रा र स्पष्टताले हिराको मूल्यमा असर गर्छ।
हिरा किन्दा डायमण्ड टेस्टर ले केही हदसम्म मद्दत गरे पनि त्यसलाई मात्र पूर्ण प्रमाण मान्न सकिँदैन। प्रयोगशालामा बनाइएको हिरा, मोजोनाइट वा अन्य नक्कली पत्थर छुट्याउन अनुभवी जेमोलोजिस्टको जाँच र प्रमाणपत्र आवश्यक हुन्छ।
बजार मूल्यभन्दा धेरै सस्तो हिरा भेटिएमा त्यसमा शंका गर्नुपर्छ। त्यस्तो पत्थर नक्कली, उपचार गरिएको, प्रमाणपत्र नभएको वा अन्य समस्या भएको हुन सक्छ। सस्तो मूल्यको लोभमा प्रमाणबिना हिरा किन्नु जोखिमपूर्ण हुन्छ।
व्यवसायीहरूका अनुसार हिराको व्यापार विश्वास र पारदर्शितामा आधारित हुन्छ। ग्राहकलाई सही जानकारी, प्रमाणित सामान र स्पष्ट मूल्य विवरण दिन सके मात्र हिरा कारोबार दीर्घकालीन रूपमा सफल हुन सक्छ।
What's Your Reaction?





