सुनचाँदी तथा रत्न आभूषण महासंघद्वारा प्रति व्यवसायी २५ हजार वितरण, ४० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा
०७ असोज, काठमाडौं । बाढीपहिरोबाट प्रभावित क्षेत्रमा रहेका सुनचाँदी व्यवसायी तथा यस क्षेत्रसँग सम्बन्धित कालिगढहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रत्यक्ष भेटेर राहत तथा नगद सहयोग प्रदान गरेको छ।
महासंघको टोलीले बाढीपहिरोबाट प्रभावित नुवाकोटको त्रिशूली पुगेर प्रभावित व्यवसायी तथा कालिगढहरूलाई प्रत्यक्ष भेटी राहतस्वरूप नगद हस्तान्तरण गरेको हो। प्रभावित व्यवसायी तथा कालिगढहरूलाई प्रति व्यक्ति २५ हजार रुपैयाँका दरले नगद सहयोग गरिएको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव विमल धमलाको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रका व्यवसायी तथा पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या तथा आवश्यकताबारे जानकारीसमेत लिएको थियो।
यसैगरी, बाढीपहिरो पीडितको राहतका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ४० लाख रुपैयाँ संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको जनाएको छ।
नुवाकोटको त्रिशूलीमा आयोजित नगद रकम हस्तान्तरण कार्यक्रममा महासंघका सचिव केसर विक, नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष डम्बर बराइली, महासंघका कार्यालय प्रमुख राम महर्जन, नुवाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष भीमराज बज्राचार्य लगायत स्थानीय सुनचाँदी व्यवसायीहरूको उपस्थिति रहेको थियो।
What's Your Reaction?





