७ हजार कुखुराको पोस्टमर्टम, १० वटा रोग फेला
काठमाडौं, ४ भदौ । चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोस्टमर्टम’ गरेको छ।
चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोस्टमर्टम गर्दा विभिन्न रोग पहिचान गरिएको हो। प्रयोगशाालाले एक हजार ५०० कुखुराको नमुना परीक्षणका क्रममा कुखुरामा १० रोग देखिएको जानकारी दिएको छ । परीक्षणका क्रममा २२ प्रतिशत कुखुरामा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा कुखुरामा घ्यारघ्यारको रोग (सिआरडी), ढुसीजन्य रोगका ९ प्रतिशत, सिसिआरडी ४ प्रतिशत, साल्मोनेलोसिस ३.५ प्रतिशत, यस्तै, एभिएन ‘इन्फ्लुएन्जा’, कुखुराको हैजा, आइबी र रानीखेतको सङ्क्रमण देखिएको हो।
द्रुत परीक्षणका क्रममा २७८ वटा नमुना परीक्षणका क्रममा ४७ वटामा एभीएन इन्फ्लुएन्जा सङ्क्रमण देखियो भने १७६ वटा गम्बारो परीक्षणका क्रममा १०९ मा संक्रमण देखिएको छ। यस्तै ९९ वटाको रानीखेत परीक्षण गर्दा सात वटामा रोग देखिएको छ भने ४६ वटा आइवी परीक्षणका क्रममा दुई वटामा सङ्क्रमण देखिएको छ ।
यसैगरी, ३६९ वटाको पिएटी विधिबाट नमुना परीक्षणका क्रममा १२ वटामा साल्मोनेला, ३६० वटा नमुना परीक्षणका क्रममा १६ वटामा माइकोप्लाजमा, १८४ वटाको इलाइजा परीक्षणका क्रममा ३८ वटामा माइकोप्लाजमा र १८४ वटाको परीक्षणका क्रममा ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (सिआइएभी) सङ्क्रमण ९०० वटा कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा संक्रमण देखिएको छ।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार सङ्क्रमण देखिएकालाई कुन एन्टीबायोटिक प्रयोग गर्ने भन्ने विषयमा सेवाग्राहीलाई जानकारी दिइएको छ । रासस
What's Your Reaction?





