उपभोक्ता भन्छन् ग्यास पाइएन, निगम भन्छ 'ग्यास अभाव छैन'

 0  21
उपभोक्ता भन्छन् ग्यास पाइएन, निगम भन्छ 'ग्यास अभाव छैन'

काठमाडौं, २० माघ । करिब दुई सातादेखि बजारमा ग्यासको अभाव देखिएका कारण उपभोक्ताहरु मारमा परेका छन् ।

भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ । पसलमा ग्यास लिन जाँदा ‘ग्यास आएको छैन, दुई–चार दिन लाग्छ’ भन्दै पसलेहरूले ग्राहकलाई फिर्ता पठाइरहेका छन् ।

यता नेपाल आयल निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्णरूपमा सहज रहेको बताएको छ। केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ग्यास अभावका समाचार तथा जनगुनासो आएपछि निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास अभाव नभएको दाबी गरेको छ ।

बजारमा केही सीमित ग्यास उद्योगका सिलिदन्डरमा मात्र सामान्य समस्या देखिएको स्वीकार्दै निगमले ती उद्योगलाई तत्काल आपूर्ति सहज बनाएर बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको उल्लेख गरेको छ ।

निगमले उपभोक्तालाई ग्यासको कृत्रिम अभाव हुन नदिन र अनावश्यक भण्डारण नगर्न विशेष आग्रह गर्दै विज्ञप्तिमा भनेको छ, ‘आसन्न निर्वाचन र वर्तमान माग मध्यनजर गर्दै निगमले फेब्रुअरीका लागि नियमित कोटामा २ हजार टन ग्यास थप गर्ने निर्णय गरेको छ, यसका लागि इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न ‘बोटलर्स वाइज एलोकेसन’ समेत पठाइसकिएको छ ।’

आपूर्तिमा देखिएको सामान्य असन्तुलन सम्बोधन गर्न निगमले प्रभावकारी कदम चालिरहेको विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow