सुनचाँदी व्यवसायीमाथि योजनाबद्ध रुपमा ६० लाख  लुटपाट

 0  108
सुनचाँदी व्यवसायीमाथि योजनाबद्ध रुपमा ६० लाख  लुटपाट

ललितपुर महानगरपालिका–१४,ताल्चिखेल पिपल बोट नजिक सुनचाँदी पसल सञ्चालन गर्दै आएका व्यवसायी बिनोद लाग्घादे माथि योजनाबद्ध ढंगले ठगी तथा लुटपाट गरिएको खुलासा भएको छ।

प्राप्त जानकारी अनुसार लुटेराहरूले करिब चार महिनाअघि देखि नै योजना बनाएर पसल सञ्चालकसँग सम्पर्क बढाएका थिए। उनीहरू पसल नजिकै रहेको चियापसलमा नियमित रूपमा आउजाउ गर्दै विश्वास जित्ने प्रयासमा थिए।

लुटेरामध्ये एक जनाले आफूलाई अफ्नो अंशबण्डामा परेको करिब ४०–५० तोला सुन बिक्री गर्नु पर्ने भन्दै पसल सञ्चालकलाई आकर्षण र प्रलोभनमा पारेको बुझिएको छ। सो बिक्रि गर्ने सुन पसलमै ल्याउन सुरक्षाको कारण देखाउँदै अस्वीकार गर्दै, काठमाडौंको चोभारस्थित आफ्नै घरमा आएर लिन आग्रह गरिएको थियो।

यस क्रममा पटक–पटक भेट्ने स्थान परिवर्तन गरिँदै शंका नलाग्ने वातावरण सिर्जना गरिएको र अन्ततः विश्वास दिलाएर ठूलो रकमसहित आउन बाध्य पारिएको अनुसन्धानमा देखिएको छ।

घटनाको दिन व्यवसायी बिनोद लामगादे करिब ६० लाख रुपैयाँ नगद बोकेर मोटरसाइकलमा चार जना व्यक्तिसँग सुन लिन चोभार तर्फ गएका थिए। तर, चोभारको एकान्त स्थानमा पुगेपछि ती व्यक्तिहरूले आफूहरूलाई ‘सिभिल प्रहरी’ भएको बताउँदै व्यवसायीलाई नियन्त्रणमा लिएका थिए।

त्यसपछि व्यवसायीलाई निर्दय रूपमा कुटपिट गरी बेहोस बनाउने प्रयास गर्दै नगद ६० लाख रुपैयाँ र मोबाइल फोन लुटेर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीको सक्रिय अनुसन्धानबाट लुटेरामध्ये तीन जना हाल अपराध अनुसन्धान शाखा, टेकुको नियन्त्रणमा रहेका छन्। बाँकी फरार व्यक्तिहरूको खोजी तथा पक्राउ कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यस घटनाले सुनचाँदी व्यवसायीहरूको सुरक्षा माथि गम्भीर प्रश्न उठाएको छ। व्यवसायीहरूले अपरिचित व्यक्तिसँग नगद कारोबार गर्दा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि औँल्याएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राख्दै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow