नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले लेखा तथा कर सम्बन्धी अनलाइन प्रशिक्षण सञ्चालन गर्दै
१५ असार, काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायीहरूको व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउन लेखा तथा कर सम्बन्धी तीनदिने अनलाइन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महासंघका अनुसार व्यवसायीहरूलाई लेखा व्यवस्थापन, कर प्रशासन तथा अभिलेखीकरण सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो। महासंघले आबद्ध सदस्य संघ तथा व्यवसायीहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।
प्रशिक्षण अन्तर्गत पहिलो दिन असार १६ गते खरिद तथा बिक्री खाता तथा डे–बुकमा कारोबार अभिलेखीकरण सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ। दोस्रो दिन असार १७ गते स्टक व्यवस्थापन, ज्याला तथा जर्ती अभिलेख र नगद बहीहरूको लेखाजोखा सम्बन्धी विषय समेटिनेछ। त्यसैगरी तेस्रो दिन असार १८ गते शिप प्रवर्द्धन शुल्क, स्रोतमा कर कट्टी, कर प्रशासन तथा अन्य लेखा प्रणाली सम्बन्धी प्रक्रियाबारे प्रशिक्षण दिइने महासंघका कोषाध्यक्ष तथा प्रशिक्षण तालिम कार्यक्रमका संयोजक गणेश प्रसाद विश्वकर्माले जानकारी दिएका छन्।
महासंघका अनुसार प्रशिक्षण कार्यक्रम २०८३ असार १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दिन साँझ ७:०० बजेदेखि जुम (Zoom) मार्फत प्रशिक्षण सञ्चालन गरिनेछ।
प्रशिक्षणमा सहभागी हुन इच्छुक व्यवसायीहरूले Zoom ID: ८२४ ४६४५ १९७३ तथा Passcode: १२३४५ प्रयोग गरी कार्यक्रममा सहभागी हुन सक्नेछन्।
महासंघले प्रशिक्षण कार्यक्रमबाट अधिकतम लाभ लिन सदस्य संघ तथा व्यवसायीहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ।
What's Your Reaction?





