ओलीको सार्वजनिक बहसमा सहभागी हुने प्रस्ताव बालेनद्वारा अस्वीकार

 0  15
ओलीको सार्वजनिक बहसमा सहभागी हुने प्रस्ताव बालेनद्वारा अस्वीकार

काठमाडौं, ११ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि राखेको प्रस्तावलाई रास्वपाका वरिष्ठ नेता बालेन साहले अस्वीकार गरेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत नीतिगत बहसको रस्साकस्सी चलिरहेका बेला बालेनले ओलीसँगको संवादलाई अस्वीकार गरेका हुन्। ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा टिप्पणी गर्दै झापा-५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेनले ओलीसँग एउटै मञ्चमा नउभिने घोषणा गरेका हुन्।

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै आफू पारदर्शी बहसका लागि तयार रहेको बताएका थिए। ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको छ। देशको नेतृत्व गर्न खोज्ने दलका एजेण्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमने-सामने बहस हुनु सकारात्मक छ ।'

ओलीको स्टाटसमा कमेन्ट गर्दैबालेनले ७६ जना बालबालिकाको हत्या गर्ने र त्यसको मतियार बन्नेसँग एउटै मञ्चमा उभिँदा आफू पनि त्यसमा सामेल भएको ठहरिने उल्लेख गरेका छन्। 'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो', बालेनले लेखेका छन्, 'तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?'

 उनले अगाडि लेखेका छन्, '७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ। त्यो पछि अरू कुरा गरौँला।'

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow