म भोलि उम्मेदवार बनेर सर्लाही जाँदैछु, मन धेरै उत्साहित छ : सभापति थापा
काठमाडौं, १० माघ । कांग्रेस सभापति गगन थापा भोलि आइतबार आफूले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ जाने भएका छन्।
शनिबार सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै सभापति थापाले पटकपटक सर्लाही–४ गए पनि भोलि उम्मेदवार बनेर मनमा एकदम उत्साह लिएर जान लागेको बताए । ‘भोलि म सर्लाही जाँदैछु । पटकपटक म गएको छु, क्षेत्र नम्बर ४ मा,’ उनले भने, ‘तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ ।’
सभापति थापाले सर्लाही–४ का युवाको भर परेर आफूले जीवनकै अत्यन्त ठूलो राजनीतिक निर्णय लिएको पनि जिकिर गरे । काठमाडौं छाडेर सर्लाही-४ बाट उम्मेदवारी दिने निर्णय आफूले सोच विचार गरेर गरेको बताउँदै सभापति थापाले यसअघि तीन पटक चुनाव जितिसकेकाले काठमाडौंमा आफ्नो उम्मेदवारी सहज अवस्थामा रहेको जिकिर गरे ।
‘मैले यसअघि ३ पटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो,’ थापाको भनाइ छ, ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुंगो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नै पाएन। म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो।’
काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्दै थापाले आफू पहिले नै मधेस जान चाहेको उल्लेख गरे। ‘म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, अहिले मात्रै आँट गरेको हुँ,’ उनले स्पष्ट पारे।
What's Your Reaction?





