टाइगर टप्स होटलको इतिहास
टाइगर टप्स होटलको इतिहास

आजभन्दा ६१ वर्ष अगाडि वि.सं. २०२१ साउन २० गते राजा महेन्द्रको विश्वासपात्रको रुपमा रहेका जोन भर्नान कोपम्यानले होटल टाइगर टप्सको शुरूवात गरेका थिए । त्यो समय होटल चलाउनका लागि १५ वर्षको लागि चितवनको जङ्गलको बिचमा रहेको १७० एकड जमिन सरकारसँग भाडामा लिएका थिए । साथै होटल सञ्चालनको लागि तथा अन्य प्रयोजनका लागि जङ्गलको १००० वर्गमाइल क्षेत्र समेत लिएका थिए ।
जोन कोपम्यानले आफ्ना दुइ लगानीकर्ताको रुपमा अमेरिकी राज्य डल्लासका हर्वर्ट डब्लु क्लेन र टोडी लि विन्ने जुनियरलाई आफ्नो साझेदारका रुपमा ल्याए । होटल राम्रै सञ्चालनमा रह्यो । टाइगर टप्सले निकै विशिष्ट पाहुनाहरूलाई सत्कार गर्ने अवसर पायो । २०२८ सालमा राजा महेन्द्रको जीवनको अन्तिम समय जोन कोपम्यान बिताइ रहेका थिए ।
दुइजना ह्विस्कीमा रमिरहँदा नै अचानक राजा महेन्द्रलाई हृदयघात भए पछि कोपम्यानले नै शाही चिकित्सक सुशिल चन्द्र हल्डर लाई बोलाएका थिए । साथमा शाही चिकित्सक सच्चेकुमार पहाडी तथा मृगेन्द्रराज पाण्डे पनि खटिएका थिए । तर उपचारको लामो प्रयास पछि पनि नसके पछि भारतीय चिकित्सक एमएल भाटियालाई बोलाइयो । तर पनि राजा महेन्द्रलाई जीवित गर्न सकिएन । राजा महेन्द्रको केही दिनमा नै निधन भयो ।
यसरी राजाको निधन भएपछि कोपम्यानको भूमिका विवादास्पद रह्यो । कतिले राजा महेन्द्रको हत्याका लागि कोपम्यानलाई सिआईएले लगाइएको भन्ने आरोप पनि लाग्यो । जसले गर्दा उनी नेपाल बस्न सकेनन् । वा भनौ स्वार्थ पुरा भएपछि उनले १५ वर्षको लागि होटल सञ्चालनको जिम्मा लिएको राजाको देहावसान पछि अचानक २०२९ सालमा नेपालबाट पलायन भए । पलायन हुनु अगाडि उनले आफूले चलाइरहेको होटल टाइगर टपको जिम्मा जिम एडवर्डसलाई लगाएर बाहिरिए ।
खासमा जोन कोपम्यान जन्मले भारतीय थिए । अमेरिकी मिसनरीको सन्तानका रुपमा उनको जन्म भारतीय शहर अम्बालामा भएको थियो । बाल्यकाल तथा युवाकाल अम्बाला र मसुरीमा बिताए । मसुरी रहँदा नै गढवालका जंगलहरुमा शिकार खेल्न थालिसकेका थिए । उनी शिकारी थिए । नेपालमा शिकारका लागि आउँदा दुइ शिकारी बिच भेट भयो । राजा महेन्द्रले उनलाई नेपालको तराइ क्षेत्रमा शिकार खेल्ने अनुमति नै दिए । यही कारणले उनले विदेशी धनाढ्यहरूलाई तराइको जङ्गलमा शिकार खेल्ने व्यवसाय नै चलाउँथे ।
यसरी विदेशीहरू निकै आउन थालेपछि उनले मेघौलीको जङ्गलको बिचमा होटल खोल्ने तैयारी गरे । हुन त यो कुरा एउटा सपनामा देखेको कथा जस्तो थियो । उनले निकै ठूलो सपना देखेर नै मेघौलीको जंगल बिच होटल खोल्ने तैयारी गरेका थिए । काँधमा बन्दुक बोकेर शिकार खोज्दै हिड्ने कोपम्यानले अमेरिकी राज्य डलासका दुइ तेल ब्यापारी अरवपति धनाध्य टोडी र क्लेनलाई साथमा लिएर होटल खोल्ने तैयारी गरे । तत्कालिन राजा महेन्द्रसंग जङ्गलको बिच होटल खोल्ने अनुमति मागे । अनुमति पाए पछि होटल खोल्ने तैयारी भयो । होटलको नाम रोजे बाघको माथि अर्थात Tiger Tops । बाघ तल हिडिरहँदा बाघको माथि बसेर हेर्न मिल्ने होटल थियो त्यो । चारवटा रेशमी कपासको रुख (Kapok Tree) लाई जोडेर चारवटा कोठा भएको घर बनाए । जसमा कोन आकारको छाना बनाए । भुइलाई सम्म बनाउन राप्ती नदीबाट ढुङ्गा ल्याए । जंगलबाट काठ, बाँस र घाँसहरु ल्याएर फुसको छाना बनाए । कोठाबाट हिमाली दृश्य हल्का देखिन्थ्यो ।
होटल तैयार भएको तीन महिना पछि पहिलो पाहुनाहरुका रुपमा पाँच अमेरिकी धनाड्यहरु आइपुगे ।उनीहरुका लागि डिसी ३ विमान मेघौली ल्याउन सानो विमानस्थल नै बनाइयो । शाही नेपाल वायुसेवा निगमको डिसी ३ विमान चार्टर्ड गरेर मेघौली आइपुगेका थिए । टाइगर टप्सका कर्मचारीहरुको पोशाक पनि भिन्न बनाइएको थियो । सैनिकहरुका पोशाकका रुपमा तैयार बनाइएको थियो । एकतर्फ खुकुरी भिरेको अर्को काँधमा बन्दुक झुन्ड्याएका ति कर्मचारी देख्दा नेपाली सेना नै जस्तो लाग्थ्यो ।
२०२९ सालमा एक संयोग थियो वा पूर्व योजना थियो । अमेरिकी शहर न्यूयोर्कमा डलासका दुइ धनाध्यले जिम एडवर्ड्सलाई भेटे । जिम एडवर्ड्स भर्खर भर्खर नेपालमा पर्यटन सम्बन्धि ब्यबसाय शुरु गर्न खोज्दै थिए । त्यस भेटमा दुइ धनाध्यले नेपालमा होटल ब्यबसाय चलाउन नसकेको तथा बिक्री गर्न चाहेको जानकारी दिए पछि जिम एडवर्ड्स किन्न इच्छुक भए ।
कथा यति मै सिमित भएन । दुई धनाड्यको पर्याप्त लगानी रहेको टाइगर टप्सबाट जोन निकालिएको बक्तव्य प्रसारित भएको थियो । टाइगर टप्समा कर्मचारीका तलवहरु तिर्न बाकी थिए । होटलमा ग्राहक आउन छोडिसकेका थिए । पालिएका हात्तीहरु पनि भोकै थिए । जिमले किने पछि जिम पैसाले भरिएको सुटकेश बोकेर जिमका ब्यापारिक साझेदार चक र कर्मचारी एलिजावेथका साथ हिडेरै टाइगर टप्समा पुगे । उनले पून टाइगर टप्सलाई उचाइमा पुर्याउन निकै मेहनत गरे ।
यता राजा महेन्द्रको अचानक चितवनको छुट्टीमा देहावसान हुनु, जोन कोपम्यानले राजा महेन्द्रको मसंग अन्तिम समय ह्विस्कीको चुस्की लिँदै गर्दा हृदयघात भएको भनेर भन्नु र त्यसको केही समय पछि नै कोपम्यान एक सानो ब्याग बोकेर सदाका लागि नेपालबाट बाहिरिनु । यो सबै केवल संयोग नभएको शंका गर्ने पर्याप्त कारण थिए । हुन पनि राजा महेन्द्र चितवनमा शिकारका लागि नै पुगेका थिए । र शिकारमा कोपम्यान नै साथमा हुन्थे । त्यस रात पनि शिकारबाट फर्किए पछि कोपम्यान र राजा महेन्द्र ह्विस्कीको चुस्की लिँदै गफिँदै थिए । अचानक राजा महेन्द्रलाई हृदयघात भयो र सदाका लागि विदा भए । राजा महेन्द्रको अचानक अन्तले नेपालको राजनीतिमा ठूलो धक्का पुग्यो । बिकासका कतिपय योजनाहरु टुहिए । राजा महेन्द्रको देहावसानमा भित्र भित्र भारत खुशी भयो ।
नेपालबाट सदाका लागि बाहिरिएका कोपम्यान शुरुमा डेनमार्क पुगे । त्यसपछि केन्यामा पुगेर पून त्यहाँ जंगल रिसोर्ट नै खोले । नेपालबाट बाहिरिन बाध्य हुनुको कारणमा कोपम्यान भने जिम एडवर्ड्सलाई दोष लगाउँछन् । उनलाई दुश्मनका रुपमा हेर्छन कोपम्यान । उनकै कारणले नेपाल फर्कन नसकेको भन्छन् ।
खैर टाइगर टप्स त्यसपछि जिम एडवर्ड्सले चलाए । जे जसरी जसले चलाए पनि यो होटलका कारण नेपालको नाम विश्वमा फैलिएको थियो । जिम एडवर्ड्सको २०६५ सालमा निधन भएपछि होटल उनका छोरा क्रिस्टिन एडवर्ड्सले सञ्चालन गर्न थालेका थिए । अचानक नेपालको कानुनमा केही परिवर्तन आयो । २०६९ सालमा जंगल भित्र होटल सञ्चालनमा रोक लाग्यो । जसले गर्दा चितवनको जङ्गलमा सञ्चालन भइरहेका पाँच होटल टाइगर टप्स, मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट बन्द भए ।
अहिले टाइगर टप्स भुत महल जस्तै भएको छ । केही कर्मचारी अझै पनि होटलमा पुग्ने गर्दछन् । होटल मालिकलाई अझै पनि सरकारको नीति परिवर्तन भएर होटल सञ्चालन हुनेमा आशा बाकी नै छ । होटल सञ्चालनमा आउन सक्ला वा नसक्ला आफ्नो ठाउँमा छ । तर टाइगर टप्सको वेवसाइटमा भने तपाइले होटलका वास्तविक निर्माता जोन कोपम्यानको नाम कतै पाउनुहुने छैन । जिम एडवर्ड्सले जोन कोपम्यानको नाम कतै पनि उल्लेख गर्न आबश्यक नै ठानेन । (source-Sunil Ullak facebook page)
What's Your Reaction?






