देशभरका सवारीसाधनबाट कालो सिसा हटाउन प्रहरीको निर्देशन
काठमाडौं, असार १६ — नेपाल प्रहरीले सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियान देशभर सञ्चालन गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले मंगलबार सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई सर्कुलर जारी गर्दै सवारीसाधनमा प्रयोग भइरहेका कालो सिसा हटाउने कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको हो।
प्रहरीका अनुसार कालो सिसाका कारण सवारीभित्रको गतिविधि बाहिरबाट स्पष्ट रूपमा देख्न कठिन हुने भएकाले सुरक्षा निगरानी, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा चुनौती उत्पन्न हुँदै आएको छ। त्यसलाई मध्यनजर गर्दै देशव्यापी अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ।
यस अभियानअन्तर्गत नियमविपरीत कालो सिसा जडान गरेका सार्वजनिक तथा निजी सवारीसाधनलाई आवश्यक निर्देशन दिई तत्काल हटाउन लगाइनेछ। अटेर गर्ने सवारीसाधनमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरी स्रोतले जनाएको छ।
नेपाल प्रहरीले सवारीधनी तथा चालकहरूलाई कानुनी व्यवस्था पालना गर्दै सवारीसाधनमा जडान गरिएका कालो सिसा स्वेच्छिक रूपमा हटाउन आग्रह गरेको छ।
What's Your Reaction?





