नेपालकै पहिलो कालोपत्रे (पिच) सडकको इतिहास
टुडिखेल देखि न्युरोड र सिंहदरबार सम्म फैलिएको सडक क्षेत्र नेपालमा पहिलोपटक कालोपत्रे (पिच) गरिएको स्थानका रूपमा इतिहासमा उल्लेख गरिएको छ।
वि.सं. १९९४ सालतिर तत्कालीन श्री ३ जुद्धशमशेर राणाले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनलाई आधुनिक बनाउने उद्देश्यसहित टुँडिखेल वरिपरिका सडक, जुद्ध सडक (हालको न्यूरोड) तथा भद्रकालीबाट सिंहदरबार जाने मूल सडक कालोपत्रे गर्न लगाएका थिए। नेपालमा सडक कालोपत्रे गरिएको यो पहिलो ऐतिहासिक प्रयास मानिन्छ।
त्यतिबेला नेपालमा आधुनिक यातायात पूर्वाधार अत्यन्त सीमित थियो। अधिकांश सडकहरू कच्ची, धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गर्थे। राजधानी काठमाडौंमा बढ्दो प्रशासनिक गतिविधि, दरबार क्षेत्रको विस्तार तथा सवारी साधनको प्रारम्भिक प्रयोगलाई व्यवस्थित गर्न कालोपत्रे सडक आवश्यक ठानिएको इतिहासकारहरू बताउँछन्।
विशेषगरी जुद्धशमशेरको शासनकालमा भूकम्पपछिको पुनर्निर्माण, सडक विस्तार, सार्वजनिक भवन निर्माण तथा शहरी व्यवस्थापनका कामहरू अघि बढाइएका थिए। त्यसै क्रममा न्यूरोड क्षेत्रलाई आधुनिक व्यापारिक केन्द्रका रूपमा विकास गर्ने योजनाअन्तर्गत सडक कालोपत्रे गरिएको मानिन्छ।
इतिहासविद्हरूका अनुसार त्यतिबेला सडक कालोपत्रे हुनु केवल पूर्वाधार विकास मात्र नभई नेपालमा आधुनिक शहरीकरणको सुरुआतको प्रतीक पनि थियो। अहिले काठमाडौं उपत्यकामा हजारौं किलोमिटर सडक विस्तार भइसके पनि नेपालको पहिलो कालोपत्रे सडकको इतिहास भने जुद्ध सडक र टुँडिखेल क्षेत्रसँग जोडिएको छ।
तस्बिर - सामाजिक सञ्जाल
What's Your Reaction?





