परराष्ट्रमन्त्रीद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई आग्रह

 0  34
परराष्ट्रमन्त्रीद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन् । नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि आग्रह गरेकी हुन् ।

परराष्ट्रमन्त्री डा. राणासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उहाँले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ ।

 संयुक्त राष्ट्रसङ्घ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा समेत परराष्ट्रमन्त्री डा. राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आउनुभएको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले दिएको छ ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि छन् । उनीहरूमध्ये ३४ जनालाई हमास समूहले मुक्त गर्न लागेको जनाइएको छ ।

भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow