बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई १८ घण्टा काममा खटाइने
काठमाडौं, १ मंसिर । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने भएको छ। मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।
सत्ययुगमा बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती यो पर्वसँग जोडिएको छ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि मङ्गलबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नामदर्ता गरेर बत्ती बाल्नका लागि कोषले रु. दुई हजार १०० का दरले शुल्क लिएको छ। मङ्गलबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।
What's Your Reaction?





