बागलुङका मतदाता भन्छन्,'जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ उसैलाई भोट दिने हो'
बागलुङ, १४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् ।
मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले धेरै थरिका नेताहरु भोट माग्न आइरहेको भए पनि यसपालि किसानका समस्यमा बुझ्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । भोट माग्न पुगेका उम्मेदवारलाई जैमिनी–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएपछि बाँदर गाउँका घरमा बस्न थालेर बारीमा लगाएको बालीदेखि घरमा राखेको सबै सामान नष्ट गरी दिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको बताउँछिन् ।
उनले टोल छिमेकी सबै बजार झरेको भन्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने थापा बताउँछन् । स्थानीय प्रतीमा पौडेलले केटाकेटी र वृद्धवृद्धालाई गाउँमा एक्लै बस्ने समस्या हुने गरेको बताइन् । पहिले वनमा बस्ने बाँदर हिजोआज गाउँमा बस्न थालेको भन्दै केटाकेटी र बूढाबूढीलाई आक्रमण गर्न आउने उनको भनाइ छ । घर छोडेर मेलापातमा जाँदा एक दुई/जना घर कुरुवालाई राखेर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।
उनले भनिन्, ‘पछिल्लो पाँच वर्षदेखि गाउँमा बाँदरले आतङ्क मच्चाएको छ, हुने खानेहरु सबै सहर बजार गइसके, गाउँमा हुने त उही सामान्य परिवारका मात्रै छन्, पहिले पहिले गाउँमा धेरै मान्छेहरु भएर होला बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन् । यो हिसाबले गाउँमा बस्न सक्ने अवस्था छैन, चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाइ दिनु अनुरोध गरेका छौँ ।’
What's Your Reaction?





