मौसम विभागले भन्यो-यस वर्ष कम वर्षा र गर्मी बढी हुने सम्भावना छ
काठमाडौं, २५ वैशाख । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको छ । विभागले यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने तथा गर्मी बढी हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ ।
विभागले आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो । मौसम अवस्थाको प्रक्षेपण भने देशका विभिन्न भेगमा फरक–फरक रहने छ ।
मौसम विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भाग, लुम्बिनी प्रदेशका अधिकांश भाग, मधेश प्रदेशका पूर्वी भाग र कोशी प्रदेशका दक्षिण भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ ।
त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भाग तथा कोसी प्रदेशका उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।
यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भाग, मधेश प्रदेशका पश्चिमी भाग र कोशी प्रदेशका मध्य भागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
What's Your Reaction?





