शहिद रत्न कुमार बान्तवा

 0  37
शहिद रत्न कुमार बान्तवा

०३२ सालको कुरो हो | म बिराटनगरबाट घर फर्किदै थिए | झापाबाट म पैदलै हिडेर इलाम पुगेँ | म सोझै रत्न कुमारको डेरामा पुगेँ | केही महिना अघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङका आउँदा त्यहाँ निस्की सकेका थियौ | त्यसो त हामी पहिला नै 'झापाली' भई सकेका थियौ |

कोठामा छिर्न साथै मैले भारी बिसाए र हात मिलाउन थाले - कर्याप्प हात समातेर |

'तपाई थाक्नुभाको होला, एकछिन आराम गर्नोस् |' रत्नले मसिनो तर उहीँ आत्मीय भावले भने |

त्यहाँ रत्न कुमार, गणेश राई र बसन्त पराजुली कोठा भित्रै थिए | म भने छोरी माइत आए जस्तै फुरुङ्ग थिए, आत्मियता जो थियो | मलाई यी तीन जना त्रिरत्न जस्तै लाग्थ्यो - उस्तै उमेर, हित्तचित्त मिलेका | खाई लाग्दा त थिए नै, त्यो भन्दा बढ्ता उनीहरूको अनुहारमा निश्छल समर्पण प्रष्टै देखिन्थ्यो, आजभोलि जसलाई 'व्यवहारवादी' राजनीति भनिन्छ र 'मालिक र कारिन्दाको व्यवहार गरिन्छ त्यसको कहीं कतै नामोनिसाना थिएन | लाग्थ्यो हामी एउटै आमाका लाम्टा चुसेका हौँ | अनि मनमनै गम्थे, 'मेरो सानो समर्पण गलत ठाउँमा छैन | यिनीहरु मिसनका पक्का जोधाहा हुन् |' बस, मलाई के चाहियो ?

रत्न कुमार बाँकी दुई जनाका पनि अगुवा त छँदै थिए, 'सिलसमाधिमा उस्तै भए पनि 'प्रज्ञामा उनी माथिल्लो कोटीका थिए | अहिले लाग्छ, उनको समर्पण नै 'प्रज्ञा, सिलसमाधिको फ्युजन हो - निजात्मक उन्नयनको छक्कापन्जा या सुतिखेती थिएन |

म त्यहाँ बस्दाबस्दै उनले धेरै जनासँग संवाद चलाए ! कोही अलिक पाका, कोही तरुण - तर ती म भन्दा प्रौढ थिए | बेलुका सँगै खाना खायौ - खाना उनैले बनाए | अनि हामी हाम्रो 'ब्युजिनेस'मा लाग्यौ | विद्यार्थी आन्दोलनको चर्चा गर्यौं, कम्युनिष्ट आन्दोलनको नयाँ शिराको चर्चा गर्यौं, 'झापा विद्रोहीले प्रसस्त गरेको बाटोमा छलफल चलायौ | पार्टी विस्तारका सम्भावनाका कुरा | 'यता त उत्साहजनक प्रगति भइरहेको छ | ताप्लेजुङको निम्ति के गर्नु पर्ला ?' उनले यो पनि भनेका हुन्, माओ त्सेतुङ्गलाई उद्धृत गर्दै,' क्रान्ति कार्चोपी भर्नु होइन, न त भोज भतेर गर्नु नै | बिना समर्पण र बिना बलिदान आस गर्नु पनि मिथ्या हुन्छ | क्रान्तिको आफ्नै विज्ञान हुन्छ |' उनी बोल्दै गर्दा म भने आफ्नै अघिल्तिर क्रान्तिको घोडा दौडदै गरेको सपना देख्दै थिए |

अलिक अघि मात्रै म बिराटनगर क्याम्पसबाट 'रेस्ट्रिकेट'' भएको, ४ वर्ष अघि SLC मा पनि | आफ्नै जीवनले भन्थ्यो, यो शासन अधम छ, बदल्नुको विकल्प छैन - हेलिनु पर्छ क्रान्तिमा | उनी मलाई ढाडस दिदै थिए, 'यो सत्ताको बल नै अत्याचार हो |' हामी अबेर सम्म विमर्शमै रह्यौं | भोलि पल्ट विहानै म लागें आफ्नै दर्गादिशा | यो नै मेरो रत्न कुमार बान्तवा संगको अन्तिम भेट थियो | त्यसको तीन वर्ष पछि म काठमान्डूमा | भरतले दुखद समाचार सुनाए, ' कमरेड रत्न कुमारको सहादत भयो |' म खग्रंग भएँ, ' नेपाली कम्युनिष्ट आन्दोलनका एक नक्षत्रको अस्त भयो |' आजभोलि काठमान्डूमै छु | अक्कल झुक्कल 'सोनाम साथि'लाई भेट्छु | उनलाई देख्दा अनायास म आफैलाई उहीँ इलामको झझल्को आउँछ | (आज उ सत्ता त छैन तर रत्न कुमारहरु हराउन थालेका छन् |)

आज उनै अमर शहिद रत्न कुमार बान्तवाको जन्म दिन तथा स्मृति दिवस |

हार्दिक श्रद्धान्जली तथा लाख लाख नमन, कमरेड रत्न कुमार बान्तवा !

(टंक कार्की फेसबुक पेज )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow