सांसद् भगवती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान

 0  72
सांसद् भगवती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान

काठमाडौं। नेपालको लोकतान्त्रिक मूल्य, मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद् भगवती चौधरीलाई सम्मान गरिएको छ ।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहेकी सांसद् चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सांसद् चौधरीलाई मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा  ‘समाजको उन्नतिका लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सम्मान गरिएको हो।  

सम्मानीत भएपछि बोल्दै सांसद् चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफुले समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताईन्। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सांसद् चौधरीले सम्मानीत हुन पाउँदा गौरवान्तिक भएको बताए।

२०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको भए पनि समाजमा विभेदहरु रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गरिन् । ‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भए पनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन्, परम्परागत, सांस्कृतिक विभेदहरु छन्, महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन्, ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ ।’ मन्त्री चौधरीले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने बताए।
महिला आर्थिक सशक्तिकरणकी अभियान्ता समेत रहनु भएकी सांसद् चौधरीले २०६४ सालको संविधानसभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्याउनु भएको छ । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहनु भएकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उनले ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत गाउँगाउँमा रहेका महिलाहरुलाई सामाजिक, सांस्कृतिक विभेदहरु विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तिकरणमा जोड्नु भएको छ ।

उनले गरिब, विपन्न र पछाडी परेका महिलाहरुको आर्थिक उन्नतीका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमुलक तालिम लगायतमा काम गर्दै आउनु भएको छ । हाल प्रतिनिधिसभा सदस्यका रुपमा संसदमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामुलक कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow