तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

 0  32
तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

ललितपुर । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ आजबाट ललितपुरमा सुरु भएको छ । ललितपुर नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रमुख अथिति ललितपुर नगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहन बहादुर शाहीले एक कार्यक्रमका बीच संयुक्त पानसमा द्विप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जन, नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाश बहादुर शाही, संघका महासचिव विरेन्द्र श्रेष्ठ, सहमहासचिव नविन विक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।

विशाल र भोजको विजयी सुरुवात
नेपाल ब्याडमिन्टन संघको बरियता प्राप्त प्रतियोगिताको आज भएको पुरुष एकल तर्फको खेलमा भोजपुरका विशाल तामाङ्ग र एपिएफका भोजबहादुर गुरुङ्गले विजयी सुरुवात गरेका छन् । तामाङ्गले नेपाल पुलिसका हिराबहादुर राईलाई २१–१७, २१–५ र गुरुङ्गले ललितपुरका सुविन श्रेष्ठ (ए) लाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे । सह-आयोजक बालकुमारी रिमिक्स क्लबको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फनै कैलालीका शिषिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ ले पराजित गरे ।

यस्तै एपिएफका क्षितिज खनालले युनिटी ब्याडमिन्टन एकेडेमीका नरेन्द्र बमलाई २१–१५, २१–१८, सेनाका सौर्य महर्जनले गार्खाका मुकुल गुरुङ्गलाई २१–१३, २१–१६, पुलिसका पूर्ण बहादुर थापाले काभ्रेका अंकित भोछिभ्वयलाई २१–१२, २१–९, एपिएफका संक्षम ढकालले कठायत ब्याडमिन्टन ट्रेनिङ्ग सेन्टरका प्रदीप सोतीलाई २१–१७, २१–१७, सेनाका सुविन श्रेष्ठले पदम युवा समाजका सफल राज पाण्डेबाट वाक ओभर, सेनाका लक्ष्मण राना मगरले सितापाखा ब्याडमिन्टन क्लबका जोन जसराजलाई २१–२३, २१–१८, २१–१५, एपिएफका रोशन साउदले देवीनगर ब्याडमिन्टन क्लबका गौरव तन्डुकारलाई २१–९, २१–८, युनिटी ब्याडमिन्टन एकेडेमीका प्रियान्सु श्रेत्रीले सल्यानका निराजन चन्दबाट वाकओभर र कठायत ब्याडमिन्टन ट्रेनिङ्ग सेन्टरका अमन डङ्गोलले दार्चुलाका आयुष पाललाई २१–१०, २१–१३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।

यस्तै एपिएफका अनिल मल्लले लम्जुङ्गका सुजन थापालाई २१–११, २०–२२, २१–१०, बागलुङ्गका प्रकाश सापकोटाले सुनाकोठी ब्याडमिन्टन क्लबका युनिष महर्जजनलाई २१–११, २१–८, पुलिसका कविर केसीले एपिएफका अमन महर्जनलाई २१–९, १५–२१, २२–२०, सेनाका सुप्रिम पन्तले एपिएफका अरुण अधिकारीलाई २१–१०, २१–१३, सेनाका विवेक चौधरीले देवीनगर ब्याडमिन्टन क्लबका नरेन्द्र लिम्बुलाई २१–१९, २१–१९ ले र गारखाका सन्वित जोशीले काभ्रेका महेश कार्कीलाई २१–९, २१–१९ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शिर्ष २० बरियता बाहेक), यु–१७ ब्वाईज र गल्र्स तथा मास्टर ४५ माथि युगल गरि ६ विधामा प्रतिस्पर्धा हुनेछ । ३१ लाख अनुमानित लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकल र पुरुष युगल तर्फका विजयीले नगद ४० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोश्रो हुनेले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यु–१७ तर्फ ब्वाईज तथा गल्र्स एकलमा प्रथम द्वितीय र तृतीय हुनेले नगद २० हजार, १० हजार र ५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र तथा मास्टर युगल (४५ वर्षमाथि)का प्रथम, द्वितीय र तृतीय हुनेले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । ५ दिनसम्म संचालन हुने प्रतियोगितामा तीन विभागिय टोली, क्लब र जिल्लाका गरि २२८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow