सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने विज्ञहरुको अनुमान

 0  56
सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने विज्ञहरुको अनुमान

लक्ष्मी सापकोटा 

काठमाडौं, ३० माघ। स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपैयाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर मङ्गलबार एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  

यसअघि गत कात्तिक ११ मा सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यतिबेला सरकारले सुन आयातमा लाग्दै भन्सार महसुल घटाएसँगै मूल्य घटेर एक लाख ४८ हजार रुपैयाँ झरेको थियो । त्यसपछि दुई महिना उतारचढाव रहेको सुनको मूल्य माघ लागेसँगै पुनः बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ९२१ डलर पुगेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले परिर्वतन गरेका नीतिका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको हो । 

सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अमेरिकाका राष्ट्रपतिले विभिन्न देशमा लगाउने भनेको भन्सार शुल्कका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ नीतिका कारण सुनको मूल्य निरन्तर बढेको छ । यसरी नै बढ्दै गयो भने केही दिनमै एक लाख ७५ हजार रुपियाँ पुग्ने देखिन्छ ।” 

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर तीन हजार डलर पुग्ने देखिएको छ, त्यतिबेला स्थानीय बजारमा प्रतितोला सुनको मूल्य तोलामा दुई लाख पुग्ने अनुमान गरिएको उहाँको भनाइ छ । 

अमेरिकका राष्ट्रपति ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतसम्मको भन्सार महसुल लगाउने घोषणा गरेसँगै त्यसको प्रभावले सुनको मूल्य बढ्न गएको हो । महासङ्घका अनुसार पछिल्लो एक महिनामा बजारमा प्रतितोला सुनको मूल्य १५ हजार रुपियाँले बढेको छ । पुसको अन्तिम साता प्रतितोला एक लाख ५५ हजार आठ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर एक लाख ७० हजार दुई सय रुपियाँ पुगेको छ ।  

नेपाल राष्ट्र बैङ्कले विभिन्न वाणिज्य बैङ्कमार्फत दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने सीमा निर्धारण गरेको छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार करिब १४५ किलो सुन बैङ्कमा मौज्दात छ । बजारमा सुनको माग न्यून हुँदा बैङ्कमा ठुलो परिणाममा मौज्दात रहेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को माघ अन्तिम सातासम्म बैङ्कहरूले ७३२ किलो सुन आयात गरेका छन् ।

कारोबारमा कमी
पछिल्लो समय निरन्तर सुनको मूल्य बढ्दा कारोबारमा कमी आएको छ ।  विवाहको सिजन भए पनि मूल्यवृद्धि भई माग कम हुँदा कारोबारमा कमी आएको हो । 

महासङ्घका अनुसार हाल दैनिक १० देखि १५ किलो सुन खपत हुने गरेको छ । विगतका वर्ष विवाहका बेला दैनिक २० देखि ३० किलो खपत हुने गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ताको क्रयशक्ति कम भएकाले बजारमा माग नै न्यून रहेको व्यवसायीको भनाइ छ । 

नयाँ सडकका मुख्य बजारका सुन पसलमा ग्राहकको भिडभाड देखिए पनि भित्री पसल भने सुनसान छन् । लगातार बढेको सुनको मूल्यले उपभोक्ता र व्यवसायी दुवैलाई असर पारेको छ । व्यवसायीका अनुसार मूल्य बढ्दा पुराना गहना बिक्री गर्ने ग्राहकसमेत बढ्न थालेका छन् ।  ( साभार : गोरखापत्र अनलाइन )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow