हाम्रो सरकारले तत्कालै डा. केसीका जायज मागहरू सम्बोधन गरोस् : तोसिमा कार्की
काठमाडौं, ८ साउन । रास्वपा सांसद् डा. तोसिमा कार्कीले धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई वर्तमान सरकार जनताको सेवक भएकाले विगतका सरकारलाई जस्तो ज्यानको बाजी राखेर खबरदारी गरिरहनु नपर्ने बताएकी छन् ।
विगतका सरकारहरूले शरीर गलेपछि, आन्दोलन चर्किएपछि र जनदबाब बढेपछि मात्र माग सम्बोधन गर्ने गरेको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यो अवस्था कुर्न नहुने भन्दै अनशनरत डा. गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै तोसिमाले अनशनरत डा. केसीका माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी हुन्।
‘अनशन बस्नुपर्ने अवस्था आउनै नपर्ने थियो, आएछ। सर अनशन बस्नुभयो’, कार्कीले लेखेकी छन्, ‘अब हाम्रो सरकारले तत्कालै डा. केसीका जायज मागहरू सम्बोधन गरोस् र भनोस्, सर ! तपाईंंजस्तो निष्ठावान् सत्याग्रही मानिसले आफ्नो ज्यानको बाजी राखेर यो सरकारलाई खबरदारी गर्न आमरण अनशन बस्नै पर्दैन, यो सरकार तपाईंंकै हो, तपाईं सिधै आएर प्रधानमन्त्रीसँग छलफल गर्न सक्नुहुन्छ, सिधै शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई सुझाव दिन सक्नुहुन्छ। विगतका सरकारमा तपाईंले पटकपटक शोषक र शासक देख्नुभयो होला, अहिले हाम्रो सरकार सेवक सरकार हो, जनताको सरकार हो। जनताको सुन्छ, तपाईंजस्तो निस्स्वार्थी विज्ञको पनि सुन्छ। भयो सर, अनशन छोडिदिनुस, चिकित्सा शिक्षालाई सफा, प्रभावकारी र जनतामुखी बनाउन तपाईंका जायज मागहरूमा हामी तपाईंसँगै सहकार्य गर्दै अघि बढ्नेछौँ। अघिल्ला सरकारले तपाईंसँग सम्झौता गरेका मागहरू पनि हामी पूरा गर्नेछौँ।’
What's Your Reaction?





