गाँजा खेतीलाई वैधानिकता दिन मन्त्रालयले सहजीकरण गर्छ : अर्थमन्त्री वाग्ले

 0  6
गाँजा खेतीलाई वैधानिकता दिन मन्त्रालयले सहजीकरण गर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं, ५ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार राष्ट्रिय सभामा भएको प्रश्नोत्तर कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले गाँजा खेतीका सम्बन्धमा विज्ञहरूबाट हुने अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी व्यवस्थित गरिएमा अर्थ मन्त्रालयले यसलाई पूर्ण सहयोग गर्ने बताएका हुन् ।

मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय, रोजगारी र राजश्व संकलनको पाटो मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको विषयसमेत भएको उल्लेख गरे।

सांसद् विष्णुकुमारी सापकोटाले विश्वका धेरै देशमा गाँजा खेती वैध रहेको र यसको बहुउपयोग गरिरहेको भनेर नेपाल सरकारको योजनाबारे जिज्ञासा राखेकी थिइन् । जवाफमा अर्थमन्त्री वाग्लेले ‘गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी तथा सम्भावित राजस्व संकलनको मात्र नभएर सीमित औषधिजन्य र लागु पदार्थको रूपमा नियन्त्रित विषय’ रहेको बताए ।

उनले भने, ‘गाँजाको व्यावसायिक र औषधिजन्य उपयोगका बारेमा सार्वजनिक बहस भइरहेको छ र विगतका बजेटहरूमा पनि यसको सम्भाव्यता अध्ययन गरिने विषय उल्लेख भइसकेको छ। विगतमा विकसित मुलुकहरूको दबाबमा यसलाई प्रतिबन्ध लगाइए पनि अहिले ती देशहरू नै खुलापनतर्फ गइरहेका छन्। त्यसैले नेपालले पनि यसलाई सकारात्मक रूपमा अगाडि बढाउनु आवश्यक छ।’

नेपालमा गाँजा खेती खुला गर्नुपर्छ भन्ने बहसमा आर्थिक लाभ, औषधि उत्पादन र किसानको आयसँग जोड्ने गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow