पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र, सात दिन हिरासतमा
विष्णु पौडेल सात दिन हिरासतमा | सम्पत्ति शुद्धीकरण अनुसन्धान | Returnee Voice
काठमाडौं, १० असार – पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण तथा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आरोपमा पक्राउ गरी विशेष अदालतको आदेशपछि सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएको थियो। अदालतले प्रारम्भिक अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। हाल उनी ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकको हिरासतमा छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार पौडेलले अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा विभिन्न व्यावसायिक समूह र बिचौलियासँगको मिलेमतोमा ठूलो आर्थिक लाभ लिएको आशंकामा अनुसन्धान भइरहेको छ। विभागले संकलन गरेका प्रमाणहरूका आधारमा उनले आर्जन गरेको भनिएको सम्पत्ति विभिन्न कम्पनी तथा व्यक्तिको नाममा राखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
अनुसन्धानका क्रममा श्रीराम टोबाको कम्पनीसँग सम्बन्धित एक विवादास्पद सेयर कारोबारसमेत फेला परेको छ। विभागका अनुसार बिचौलिया दिपक भट्टले उक्त कम्पनीमा करिब ३० करोड रुपैयाँ बराबरको सेयर प्राप्त गरेका थिए, जसको वास्तविक स्रोत र लगानीबारे थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी, हिमालयन रिइन्स्योरेन्स तथा सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रियामा प्रभाव प्रयोग गरिएको, साथै सुपारी आयातसम्बन्धी निर्णयमा सहजीकरण गरेबापत आर्थिक लाभ लिएको आशंकासमेत अनुसन्धानको दायरामा परेको छ।
विभागले बुटवलस्थित एक गाई फार्मको नाममा रहेको ३५ बिघा जग्गाको स्वामित्वमाथि पनि अनुसन्धान थालेको छ। प्रारम्भिक विवरणअनुसार उक्त जग्गा वास्तविक स्वामित्व लुकाउन अन्य व्यक्तिको नाममा राखिएको हुन सक्ने देखिएको छ।
यसैबीच, अनुसन्धान टोलीले मंगलबार सम्बन्धित फार्म तथा अन्य स्थानहरूमा पुगेर आवश्यक कागजात र विवरण संकलन गरेको जनाएको छ। पक्राउअघि भैँसेपाटीस्थित पौडेलको निवासमा समेत खानतलासी गरी इलेक्ट्रोनिक उपकरण तथा केही महत्वपूर्ण सामग्री नियन्त्रणमा लिइएको बताइएको छ।
What's Your Reaction?





